पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

काठमाडौं महानगरले खोल्यो यज्ञमती र चखुँचा खोला

२०८० भाद्र १३, बुधवार १०:१३ बजे

काठमाडौँ–काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भ चोकसम्म सकिएको छ । खोला छुट्याउने कामसँगै यहाँसम्म जग्गाको नापजाँच पनि गरिएको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको हो । गैरकानुनीरूपमा सुरु गरिएको यो कामलाई तत्कालीन कपन गाविसले वैधानिकता दिँदा अहिले समस्या आएको स्थानीयवासी चुडामणि कोइरालाले बताए । तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्व पदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उनको भनाइ थियोे । नदी पुरेर ढल बिच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्दै आएको थियो ।
महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार÷चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताए ।
दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो । नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको छ । दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकाले समेत सहयोग गरिरहेको जनाइएको छ ।

कपन, सरस्वतीनगर क्षेत्रमा यज्ञमती र चखुँचा खोला कायम हुँदा बाढीको समस्या कम हुन थालेको स्थानीयवासी वाङ्छी शेर्पाले बताइन् । खोला पुरेर ढल हालेपछि भने वर्सातका समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गर्दा यस वर्ष एक बालकलाई बाढीले बगाएको थियो । विगत वर्षमा पनि बर्खायाममा प्रायःजसो यहाँ दुर्घटना हुने गरेको स्थानीयवासीले बताए ।