पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

राष्ट्र बैंकले एक अर्ब ४३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

२०८१ जेष्ठ २५, शुक्रवार ०६:५६ बजे

काठमाडाैं- नेपाल राष्ट्र बैंक आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४३ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार कूल रकममध्ये वाणिज्य बैंकका लागि १ अर्ब १४ करोड ४० लाख रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि २१ करोड ४५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि ७ करोड १५ लाख रुपैयाँ छुट्टाइएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ । केन्द्रीय बैंकले २०८१ असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म कूल ३६६ दिन (एक वर्ष) उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।

इच्छुक बैंक तथा वित्त कम्पनीले २०८१ जेठ २७ गते बेलुका ५ बजेसम्म तोकिएको रकमसहित ब्याजदर प्रस्ताव गर्न सक्नेछन्।

निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाको न्यूनतम पूँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको, सीडी रेसियो, खुद तरल सम्पत्ति तोकिएअनुसार कायम गरेको हुनुपर्नेछ ।

यस्तै संस्था सञ्चालनको २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने तोकिएको चुक्ता पुँजी पुर्याएको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने लगायतको शर्त रहेका छन् ।