पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

एमालेले अघि सारेकाे 'समृद्ध नेपाल, सुखी नेपाली' समाजवादी विचारधारा : केपी ओली

२०८० फाल्गुण ४, शुक्रवार १८:५१ बजे

काठमाडाैं- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्नु नै समाजवाद भएकाे बताउनुभएकाे छ ।

नेपाल पर्यटन बाेर्डमा शुक्रबार आयाेजित विश्व सामाजिक मञ्चकाे अन्तर्क्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमालेले समृद्ध नेपाल सुखी नेपालीलाई आफ्नाे गन्तव्य बनाएकाे बताउनुभयाे ।

समृद्ध नेपाल सुखी नेपाली नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको भन्दै उहाँले नेपालमा समाजवाद स्थापनाका लागि नै एमालेले साे विचारधारा अघि सारेको प्रष्ट पार्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि हामी प्रतिबद्ध छाैं, समृद्ध नेपाल सुखी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो ।'

गरिबीविरुद्धको लडाइँ जिते मात्रै नेपाल समाजवादमा पुग्ने अध्यक्ष ओलीले बताउनुभयाे । त्यसका लागि एमालेले जनतामा खुशी ल्याउने र जनतालाई सुखी बनाउनेगरी मुलुकको समृद्धिको बाटो तय गरेको उहाँले बताउनुभयाे । 

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा संविधानमै व्यवस्था गरिएकाे भन्दै उहाँले त्यसको कार्यान्वयनमा एमाले लागिरहेकाे बताउनुभयाे । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझ बलियाे बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको अध्यक्ष ओलीले बताउनुभयाे । महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बीमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुंगाेमा पुग्ने चरणमा रहेको पनि बताउनुभयाे ।