पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

अमेरिकामा जहाज दुर्घटना : सबै ६७ जनाको मृत्यु भएको पुष्टि, नदीबाट ४० शव निकालियो

२०८१ माघ १८, शुक्रवार ०९:१८ बजे

एजेन्सी- अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ ।

वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । विमानमा ६० जना यात्रु र चालक दलका ४ सदस्य सवार थिए । यस्तै हेलिकप्टरमा रहेका ३ जनाको पनि मृत्यु भएको छ ।

कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ‘धावनमार्ग–३३’ मा अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोकिएको थियो । तीन सैनिक सवार सेनाको सिकोस्र्की ‘ब्ल्याक हक’ हेलिकोप्टर प्रशिक्षण उडानमा थियो ।

विमान र हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ । अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धार कार्य प्रभावित भएको जनाएका छन् ।

घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा निकै कठिनाइ भएको डोनेलीको भनाइ छ । उनका अनुसार उद्धार कार्यमा करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ ।

अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए) का अनुसार स्थानीय समयानुसार बुधबार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको पीएसएको विमान हेलिकोप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो । हेलिकोप्टरसँग ठोकिएपछ विमान दुई टुक्रा भएर नदीमा खसेको थियो । दुर्घटनामा परेको हेलिकोप्टर सग्लो रहेको तर नदीमा उत्तानो परेको स्थानीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

विमानसँग ठोकिएको हेलिकोप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ ।

सीएनएनका अनुसार दुर्घटना हुनुभन्दा केही समयअघि रोनाल्ड रेगन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले सेनाको हेलिकोप्टरलाई अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान देखिएको छ कि छैन भनेर प्रश्न गरेका थिए । एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरलाई पुनः चेतावनी दिएको थियो ।

एयर ट्राफिक कन्ट्रोलले दिएको चेतावनीपछि हेलिकोप्टर चालकले कुनै प्रतिक्रिया नदिएको र त्यसको केही सेकेन्डमै हेलिकोप्टर र विमान ठोकिएको थियो ।

बिहीबारको विमान दुर्घटना अमेरिकामा डेढ दशकयता व्यावसायिक उडानमा भएको सबैभन्दा ठूलो हो । सन् २००९ को फेब्रुअरीमा न्युजर्सीको नेवार्कबाट उडेको कन्टिनेन्टल एयरलाइन्सको यात्रुवाहक विमान न्युयोर्कस्थित बफेलो विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो ।

४० शव निकालियो

विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० भन्दा बढी शव निकालिएको छ । अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालि सकिएको सीएनएनले जनाएको छ ।

वासिङ्टन पोस्टका अनुसार आकासमा ठोकिएर विमान र हेलिकप्टर खसेको पोटोम्याक नदी अमेरिकाको मध्य–एट्लान्टिक क्षेत्रको एक प्रमुख नदी हो ।यो नदीको पानी यति चिसो छ कि त्यहाँ पसेको मानिस जीवित निस्किन गाह्रो छ ।