पाठशाला न्यूज
 २०८१ आश्विन ३, बिहीवार    

बर्दिवासमा फेला परेको १२ हजार बर्ष पुरानो हतियार कारखानाले यसरी समृद्धिको बनाउँदै छ

२०८१ श्रावण २३, बुधवार १८:१८ बजे

बिशाल बस्नेत

महोत्तरीसन् १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरुको विषयहरुमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन ।

जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आईन तब नेपालका पुरातात्त्विक गौरवहरुको उजागर गरिन्। ढुङ्गे युगदेखी नै मानिसहरुको चहलपहल भएको बिषयले मात्र हैन हजारौ बर्ष पुराना अवशेषहरुले नेपालका भुमिहरु विश्वका पुरातात्त्विकविद्हरुका लागि सर्वाधिक आकर्षण बने ।

उनै कर्विन्सले १० बर्ष लगाएर अध्यण गरेको मधेश प्रदेशको महोत्तरीस्थित पाटुको भूमि विश्वमा नै चर्चाको विषय बनेको छ।

विख्यात भुगर्भविद कर्विन्सले गरेको अध्ययन पछि सोही ठाउँमा पत्ता लगाईएको मध्यपाषण युगको हतियार कारखाना यतिवेला आम मानिसको चर्चा र कौतहुलको बिषय बनेको छ।

कर्विन्सले २००७ मा प्रकाशित गरेको किताब `प्रिहिस्टोरिक कल्चर इन नेपाल´ बाहिर आएपछि यो भूमिको थप रहस्यहरु उजागर  बन्यो । उन्ले उक्त किताबमा रातु नदीसगैँ जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार बर्ष पहिला अर्थात मध्यपाषण युगमा मान्छेहरुको बाक्लो चहलपहल रहेको उल्लेख गरेकी छन्।

तत्कालिन समयमा मानिसहरुले प्रयोग गर्ने हतियारहरु समेत त्यँही बनेको कर्विन्सले विश्वलाई किताबको माध्यमवाट सविस्तार वर्णन गरिन् । जुन बेला मानिसहरु ढुङ्गाको हतियार बनाएर सिकार खेल्ने र जिविकोपार्जन गर्ने गर्दथे ।

मध्यपाषण युग १० देखि १२ हजार बर्ष पहिलाको मानिन्छ । अहिलेको पाटु गाउँमा वि.स. २०२० को दशकमा बस्ती बसेको थियो । कर्विन्सले तथ्यसहित १२ हजार बर्ष पुरानो मानव सभ्यता भएको उजागार गरेपछी स्थानियहरु समेत अचम्मित बनेका छन्।

`बन्चरो जस्ता ढुङ्गा, धारिलो अनौठा ढुङ्गाहरु जङ्गल जाँदा भेटिन्थ्यो । संचार माध्यमबाट पाटु १२ हजार बर्ष पुरानो सभ्यता भएको थाहा पाएपछी हामिले त्यस्ता आकृतिका ढुंगाहरुको खोजी गरिरहेका छौ ।´ स्थानिय रमेश पौडेलले भने। `यो भुमी पुरातात्त्विक पर्यटनका हिसाबले उर्वर रहेछ ।´

चुरेसगैँ जोडिएको यो गाउँमा पाल टागेर ३५ बर्ष अगाडि कर्विन्सले १० बर्ष लगाएर उक्त अध्ययन गरेकी थिइन्।

स्थानिय, प्रदेश र संघिय सरकारले यहाँको प्रागऐतिहासिक विषयमा चासो देखाएतापनि यस्को संरक्षण र प्रवर्धन गर्ने भन्ने बिषयमा कुनै योजना बनाउन सकेको छैनन्।

उद्योग बाणिज्य संघको चासो

पुरातात्त्विक हिसाबले निक्कै रहस्यमय भएको यस ठाउँमा बरु उद्योग बाणिज्य संघ बर्दिवासले निक्कै चासो देखाएको छ ।

पुरातात्त्विक पर्यटिकिय गन्तव्यकोरुपमा विकास गर्न कयौं पटक संघका अध्यक्ष बिष्णु खड्काले छलफल समेत चलाएका छन्।

उनको नेतृत्वमा यसअघि तत्कालिन पर्यटन मन्त्री सुदन किराँतीलाई प्रतिवेदन समेत बुझाईएको थियो । फलस्वरूप संघिय सरकार र प्रदेश सरकारले झण्डै ८० लाख वजेट विनियोजन गरेको छ ।

मध्यपाषण युगको हतियार कारखाना जुन वेला मानिसहरुले ढुङ्गाका हतियार बनाउथे । सोही हतियारहरु कर्विन्सले रातो माटोभित्र हजारौ सङ्ख्यामा रहेको पत्ता लगाईन् ।

तत्कालिन समयमा हतियार कारखानाकोरुपमा नै प्रयोग भएको उक्त ठाउँमा ठुलो सङ्ख्यामा मानिसहरुको बसोबास मात्र हैन अन्यत्रबाट पाटुमा नै केन्द्रित हुने गरेको कर्विन्सको अध्यणमा उल्लेख छ ।

`उन्ले पत्ता लगाएका केही हतियारहरु हामिले पुरातात्त्विक विभागमा समेत गएर अवोलोकन गर्‍यौ ।´ अध्यक्ष खडकाले भने । `वास्तवमा नै यो ठाउँलाई विश्वको नै ठूलो अध्यण केन्द्र वनाउन सकिने आधारहरु देखिएका छन् ।´

अहिले उधोग बाणिज्य संघ बर्दिवासको नेतृत्वमा नै पुरातात्त्विक पर्यटनको आधार तयार गर्न विषयगत समिती समेत बनाइएको छ । रातु-राईमण्डल पुरातात्त्विक पर्यटन विकास क्षेत्र समिती नामाङ्करण गरिएको समितिले पुरातात्त्विकविदहरुसगँ छलफल गरेर गुरुयोजना समेत तयार गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

नेपालमा नै पहिलोपटक ठूलो पुरातात्त्विक पर्यटकिय केन्द्र बन्न सक्छ : पुरातात्त्विकविद

संचार माध्यमबाट निरन्तर समाचार आएपछी देशैभरीका पुरातात्त्विकविद्वहरुले पाटुको मध्यपाषण युगको हतियार कारखानाको विषयमा चासो व्यक्त गरेका छन् ।

`बर्दिवासमा देखिएको चासोले यो ठाउँ विश्व कै पुरातात्त्विक पर्यटन केन्द्र  बन्न सक्ने महत्वपूर्ण आधारहरु देखिएको छ ।´ भुगर्भविद्व प्रकाश दर्नालले भने । `संघ र प्रदेशले उक्त ठाउँको विकासको लागि बजेट विनियोजन गरेको सुनेको छु । गुरुयोजना वनाएर काम गर्नुपर्छ ।´

पुरातत्त्व विभाग काठमाण्डौंका कर्मचारीहरु पाटुका विषयमा कर्विन्सले अन्य धेरै बिषय पत्ता लगाएको हुँदा थप अध्ययन हुन जरुरी देखिएको वताउछन् ।

कर्विन्सले पत्ता लगाएको उक्त अवशेषहरुलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ । किताबमा रातो माटोमुनि हजारौं, करोडौ संख्यामा ३० देखि ५० सेन्टिमिटर पुरिएको अवस्थामा रहेको उनले उल्लेख गरेकी छन् ।

यि सबै सम्पदाहरुलाई संरक्षण गर्न र ऐतिहासिक पर्यटकिय केन्द्रकोरुपमा विकास गर्न सरकारले देखाएको तत्परताले उत्साहित बनाएको अर्का पुरातात्त्विकविद्व सोमनाथ सापकोटा बताउछन्।`पाटुको विषयमा थुप्रै गौरवपूर्ण इतिहास हामिले पत्ता लगाएका छौ । स्थानिय सरकारले यस्मा विशेष चासो देखाउनुपर्छ ।´ सापकोटाले भने । `कर्विन्सले पत्ता लगाएको मध्यपाषण युगको हतियारको राजधानी, सर्पहरुको राजधानी, वि.स. १२१८ को शक्तिशाली भुकम्पका विषयमा यहाँ थुप्रै रहस्यहरु छन्।´

वि.स. १२१८ को शक्तिशाली भुकम्पले वनाएको पहाड

नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।

यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो ।

इतिहासकारहरुको अनुसार तत्कालिन समयमा समथर र केही माथी उठेका चुरे पहाडहरु झन माथी उठेको बताईन्छ । 

त्यसैमध्ये भुकम्पको प्रभाव कै कारण सवैभन्दा ठुलो पहाड बनेको पनि पाटुको उपल्लो क्षेत्र अर्थात राईमण्डलको वरपर नै रहेको बताईदै आएको छ ।

झण्डै ८ सय बर्ष पुरानो जिवित इतिहासलाई भुकम्पको कारण माथी उठेको यसै ठाउँको एउटा टापु प्रमाणकोरुपमा उभिएको भुगर्भविदहरु बताउछन्।

भुगर्भविद्व सोमनाथ सापकोटाका अनुसार पिएचडीका विद्यार्थीहरुले पाटुमा नै थुप्रै अध्ययन र अनुसन्धान गरेर जर्नलहरु प्रकाशित गरेका छन् ।

कर्विन्सले फेला पारेको मध्यपाषण युगको सभ्यतासँगै देखिएको ऐतिहासिक चुरे पहाडलाई एकीकृत पुरातात्त्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न सकिने सापकोटा बताउछन्।

स्थानिय क्षेत्रमा विषयगत संस्थाको प्रारम्भ 

हजारौ बर्ष पुरानो मानवसभ्यता र यस्का अवशेषहरु फेला परेको विषय स्थानिय पत्रकारले निरन्तर फ्लोअप गरेपछी विषयगत संस्था दर्ता प्रक्रियामा अगाडि बढेको छ ।

उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्काको संयोजकत्वमा बनेको समितिमा १३ जनाको तदर्थ समिती  छ।

उपाध्यक्षमा पोषण थापा, महिला उपाध्यक्षमा बिन्दा कुमारी थापा, सचिव उत्तम कुमार श्रेष्ठ, स-सचिव दिपेश सापकोटा, कोषाध्यक्षमा हेम कुमारी वराल, सदस्यहरुमा उषा ढकाल, विशाल बस्नेत, सम्भु भट्टराई, नारायण अधिकारी, बैकुण्ठ देवकोटा, अर्चना न्यौपाने लगायतका छन् ।

संस्था दर्ता प्रक्रिया औपचारिकरुपमा सकिएपछि छलफल र विज्ञहरु राखेर योजना तयार गर्ने संयोजक खड्काले वताए ।