–तेजविक्रम कार्की
तिमीले पर्वत पर्वत उभिएर भन्यौ
मैले भुई भुई छोएर भने
होस् म त धुलै हुन्छु !
कमसेकम साना साना नानिहरुले
मुछेर भाडाँकुटी खेलुन् !
तिमीले सागर सागर भरिएर भन्यौ
मैले आकाश आकाश रित्तिएर भने
बरु बसौंला नि परै
लुकाएर छाती भरि भरी यो दुनियाँ
कमसेकम मलाई प्रेम गर्नेहरू हेरिरहनेछन्
म ओर्लिहिडेको क्षितिज
कमसेकम !
सँगै भएर सधै सधै टाढा हुनु भन्दा
सधै सधै टाढा रहेर सँगै हुनुको मज्जा
देउरालीमा कसैले देउता बनाएको पत्थर हुनुभन्दा
कयौं गुणा अन्तर होला र ?
होस् न त ! पर्वतै हुनु परेछ भनेनी
या सागरै हुनुपरेछ भनेनी
छातिभरी भरी गुराँस फुलाउदा
र हजारौं दुख लुकाई मुस्कुराउदा के होला र ?
तिमीले फुल फुल मुस्कुराउनु
र म काँढा काँढा हुनुमा
तिमिले आँखा आँखा हेर्नू
र म पानी पानी भै खस्नुम
सायदै कोसौ कोसको फरक होला ?
धेरै धेरै यसैगरी सँगै हुनुसँग
बरु जीवन बाँच्न सकिन्छ कि ?
तर
एकाबिहानै आज तिमिले
दैलोमा टेकेर त्यो रुमाल छोडी गएदेखी
सोचे यसरी टाढा टाढा भएर
सधै सधै कहाँ बाँच्न सकिएला र ?