पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

शुक्रकिट र डिम्बविनै वैज्ञानिकले बनाए मानव भ्रुण

२०८० भाद्र २२, शुक्रवार २२:३० बजे

बीबीसी–इजरायली वैज्ञानिकहरुले शुक्रकिट तथा डिम्बको प्रयोग नगरेरै सुरुआती अवस्थाको मानव भ्रुणको प्रतिरुप तयार पारेका छन् ।
इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रुणकै स्वरुपको नमूना भ्रुण तयार पारेका हुन् ।
प्रयोगशालामा तयार पारिएको सा भ्रुणले हर्मोनहरु समेत उत्सर्जन गरेको र गर्भ परीक्षणमा समेत पोजेटिभ देखिएको थियो ।
वैज्ञानिकहरुले प्रयोगशालामा कृत्रिम मानव भ्रुणको मोडेल तयार पार्नुको उद्देश्य हाम्रो जीवनको सुरुवाती क्षणहरुको बारेमा नैतिक ढंगले बुझ्नमा सहयोग गर्नु रहेको बताइएको छ ।
शुक्रकिट र डिम्बको मिलनपछि गर्भाधारण भएर भ्रुण बन्ने सुरुआती हप्ताहरु निकै नाटकीय परिवर्तनको चरण हो । यस क्रममा सामान्य कोशिकाहरुबाट बच्चा आकारको भ्रुणनै विकास हुन्छ ।
यो बेला भ्रुण खेर जाने वा बच्चामा विभिन्न खालका शारीरिक विकारहरु आउने समय पनि हो । तर यसबारेमा निकै कम मात्रै थाहा हुन्छ । विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्राध्यापक ज्याकब हान्नाका अनुसार यो चरण ब्लाकबक्स जस्तै हो, जसको बारेमा हामीलाई निकै सीमित मात्रै जानकारी छ ।
भ्रुण अध्ययनको विषय कानुनी, नैतिक तथा प्राविधिक रुपमै जटिल तथा संवेदनशील विषय हो । तर पछिल्लो समयमा प्राकृतिक भ्रुण विकासलाई जस्ताको तस्तै प्रस्तुत गर्नसक्ने प्रविधिको तीव्र विकास भैरहेको छ ।
इजरायली वैज्ञानिकहरुले विकास गरेको पछिल्लो कृत्रिम भ्रुण सुरुआती मानव भ्रुणका सबै प्रमुख संरचनाहरू देखाउने पहिलो पूर्ण स्वरुपको मानव भ्रुणको मोडेल भएको नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख छ ।
प्राध्यापक हान्ना भन्छन्, ‘यो ठ्याक्कै पाठ्यपुस्तकमा छापिने १४ दिनको मानव भ्रुणको तस्वीर जस्तै छ । यस्तो भ्रुणको नमूनाको विकास यसअघि गरिएको थिएन ।’
यो भ्रुणको विकासका लागि शुक्रकिट र डिम्बको साटो सुरुवाती पदार्थको रुपमा स्टेम कोशिकाको प्रयोग गरिएको थियो जुन कोशिकाहरु सरीरका जुनसुकै तन्तुमा विकास हुनसक्छन् ।