पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले गरे महासमिति बैठक बहिष्कार

२०८० फाल्गुन ८, मंगलबार १७:५४ बजे

काठमाडौं : नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन्। पार्टी विधान अनुसार शुभेच्छुक संस्थाबाट तीन\तीन जना प्रतिनिधित्व नगराइको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।
महासमिति बैठक बहिष्कार गर्नेमा ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) रहेका छन्।
ती संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै महासमिति बैठक बहिष्कार गरेको जनाएका छन्। उनीहरुले विधानको दफा १८ (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन\तीन जना प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था प्रतिकुल हुने गरी महासमिति बैठक अघि बढेकोले बहिष्कार गरेको जनाएका छन् ।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा १८ (१) (घ) बमोजिम भ्रातृ संघ एवं शुभेच्छुक संस्था प्रत्येकबाट सम्बन्धित संस्थाको केन्द्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका केन्द्रीय अध्यक्ष सहित ३ जना नेपाली कांग्रेसको केन्द्रीय महासमितिमा पठाउने विधानको प्रावधान बमोजिम शुभेच्छुक संस्थाका केन्द्रीय अधिवेशन पश्चात् निर्वाचित शुभेच्छुक संस्थाहरूबाट अध्यक्ष पदेन र अन्य २ जनाको नाम पठाएकोमा सो नामलाई विधानको बर्खिलाप हुने गरी व्याख्या समेत गरी उक्त नामहरु समावेश नगरेको पाइएको महासमितिको बैठकमा हामी सहभागी नहुने व्यहोरा जानकारी गराउँछौं,’ ती संस्थाका अध्यक्षहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरी गरेको निर्णयसमेत नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को बर्खिलाप हुने गरी व्याख्या गरिएको उनीहरूले बताएका छन् ।