काठमाण्डौं- सत्तारुढ दल एमालेले आज अपरान्ह साढे १२ बजे काठमाडौंको दरबारमार्गमा जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्दैछ।
सभा अघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्नेछ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् ।
एमाले विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् । जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।
प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै सङ्घर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारको नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो ।
सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस ल्याउने तयारी गरेको छ ।