पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै अमेरिका

२०७९ भाद्र १८, शनिबार १५:२१ बजे

वासिङ्टन–संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ ।
डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वासिङ्टनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ ।
मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वासिङ्टन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ ।
हार्पुनहरू बोइङले तटीय–जल क्षमताका साथ उत्पादन गरेको एन्टी–शिप होमिङ मिसाइलहरू हुन् । यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो ।
साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ । टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो ।
वासिङ्टनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्री बारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो ।
हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो ।
ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ । सो ड्रोन चिनिया तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो ।