पाठशाला न्यूज
 २०८१ बैशाख ७, शुक्रबार    

नेपालले जित्यो मलेसियाविरुद्ध पाँच खेलको सिरिज

२०८० जेठ २१, आईतबार २०:२० बजे

काठमाण्डौं–नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ। मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो। नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पार्यो।

मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी, कप्तान रुबिना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योति पाण्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् भने विनिफ्रेड दुराई सिंघमले २५ बलमा २४ रन जोडिन् । त्यस्तै, महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन्।
बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिइन भने ईश्वरी विष्टले एक विकेट झारिन् । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो ।

त्यसैगरी, तेस्रो खेलमा नेपालले २७ रनले विजयी हुँदा चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो।