पाठशाला न्यूज
 २०८१ श्रावण ५, शनिवार    

युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम दिने बाइडेनको घोषणा

२०८१ आषाढ २६, बुधवार ०९:५८ बजे

वाशिङटन : अमेरिकाको राजधानी वाशिङटन डीसीमा आयोजित अमेरिकाको अगुवाई रहेको सैन्य गुट नेटोको बैठकमा बोल्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम दिइने बताएका छन् ।
नेटोको बैठकमा मन्तव्य दिँदै उनले अमेरिका र चार अन्य पश्चिमी देशले एयर डिफेन्स सिस्टम आउँदो महिना युक्रेनलाई दिने जनाएका हुन् ।
अमेरिकी अधिकारीहरुका अनुसार यो प्याकेजमा पेट्रोलियम मिसाइल सिस्टम र अन्य टेक्निकल एयर डिफेन्स सिस्टम तथा यसका पार्टपूर्जा रहेको जनाइएको छ । अमेरिकाबाहेक जर्मनी, नेदरल्यान्ड्स, रोमानिया र इटालीले एयर डिफेन्स सिस्टमको आपूर्ति गर्नेछन् ।
यो वर्षको अन्तिम सम्ममा एयर डिफेन्स सिस्टमको बारेमा फैसला गरिने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन पनि सामेल हुने जनाइएको छ ।
रुसको हालैको मिसाइल हमलापछि मंगलबार युक्रेनका अधिकारीले अतिरिक्त एयर डिफेन्स सिस्टमको माग गरेका थिए । रुसले गएको सोमबार युक्रेनको राजधानीमा नै मिसाइल प्रहार गर्दा ३६ जना मारिएका थिए । सो आक्रमणमा बाल अस्पताल समेत लक्षित थियो ।