पाठशाला न्यूज
 २०८१ आषाढ २४, सोमवार    

दलित बिद्यालयका सम्पूर्ण बिद्यार्थीहरुलाई निशुल्क पोशाक र जुत्ता बितरण, मेयर काफ्ले र उपमेयर चौधरीद्वारा यस बर्ष शिक्षामा बढी लगानी गर्ने प्रतिबद्धता

२०८१ आषाढ २१, शुक्रवार ०८:०० बजे

रौतहट- रौतहटको चन्द्रपुर वडा नम्बर ८ स्थित श्री दलित जन जागरण नि.मा.वि. ले आफ्नो बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई बिद्यालय पोशाक र एक जोर जुत्ता निशुल्क वितरण गरेको छ। 

बिहिवार बिद्यालयमा एक कार्यक्रम आयोजना गरि चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेको प्रमुख आतिथ्यमा तथा उप मेयर जयमाला चौधरीको बिशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल शिक्षक संघका रौतहट जिल्ला अध्यक्ष रामकृपाल यादव, श्री दुर्गा मा.विका प्रधानाध्यापक नारायण कार्की तथा बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष उर्मिला रामको उपस्थिति रहेको थियो। 

बिद्यालयका प्रधानाध्यापक सोनालाल यादवको प्रयासमा स्थानीय युवाहरुको सहयोगमा रू एक लाख नगद चन्दा संकलन भएपश्चात बाँकी बिद्यालयको सहयोगमा उक्त दलित बिद्यालयका सम्पूर्ण बिद्यार्थीहरुलाई बिद्यालय पोशाक र एक जोर जुत्ता निशुल्क बितरण गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सञ्जय काफ्लेले बिद्यालयको प्राङ्गणमा बर्षाले गर्दा देखिएको अस्तव्यस्ततालाई यसै बर्ष भित्र पुनर्निर्माण गर्ने, सरस्वतीको मन्दिर निर्माण गरिदिने र तिन कोठे एउटा पक्कि भवन समेतको निर्माणको लागि आफूले प्रयास गर्ने बताए।

उपमेयर जयमाला चौधरीले यस बर्ष आफुले खर्च गर्न सक्ने करिब एक करोड बजेटको धेरै हिस्सा शिक्षामा लगानी गर्ने समेत बताए । 

अधिकांश दलित समुदायका बिद्यार्थीहरु अध्ययन गर्ने उक्त बिद्यालयको शिक्षाको स्तर उकास्न नगरपालिकाले यस बर्ष प्रमुख भूमिका निर्वाह गर्ने प्रतिबद्धता मेयर काफ्लेले जनाए । 

उक्त कार्यक्रममा बिद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप सहित शिक्षिकाहरुले आफ्नो नृत्य प्रदर्शन गरेर कार्यक्रमको समापन भएको

थियो।