पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

ब्राजिलमा सर्भे गर्दा पत्ता लाग्यो रोमान्टिक पार्टनरको खास विशेषता

२०८१ बैशाख ६, बिहीबार ०७:३१ बजे

एजेन्सी : अहिलेको जमानामा टिकाउ प्रेम सम्बन्ध तथा डेटिङका विषयहरु झनै जटिल बन्दै गएका छन् ।
सतही प्रतिस्पर्धा, रियालिटी शो तथा एपहरुका माध्यमबाट जुन सम्बन्धहरु बन्दछन् ती टिकाउ हुँदैनन् । टिकेता पनि सम्बन्ध राम्रो रहँदैन ।
यस्तोमा उपयुक्त रोमान्टिक पार्टनर खोज्नु निकै गाह्रो हुन्छ । किनकि आम रुपमा मानिसहरु शारीरिक बनोट तथा लुक्स, अनुहार, पैसा वा नाम देखेर आकर्षित हुन्छन् ।
तर, विज्ञानका अनुसार टिकाउ सम्बन्धका लागि यी सबै चिज आवश्यक छैन । रोमान्टिक पार्टनरका सबैभन्दा खास कुरा केही अरु नै हुन्छन् ।
ब्राजिलमा गरिएको एक सर्भेका अनुसार रोमान्टिक पार्टनरको कसीमा अनुहार, जीउडाल, लम्बाई चौडाइ, शरीरको आकार, पैसा आदिजस्ता कुराले अर्थ राख्दैन ।
युनिभर्सिटी अफ साओपाओलोका मनोवेत्ता जोआओ फ्रान्सिस्को गोस ब्रागा ताकायानागीका अनुसार रोमान्टिक पार्टनरलाई सबैभन्दा जरुरी विशेषता भनेको बुद्धिमत्ता र दयालुपनाु अर्थात् इन्टेलिजेन्स र काइन्डनेस हो । ८ सय जना मानिसमा गरिएको उक्त सर्भेक्षणका आधारमा शोधकर्ता जोआओ भन्छन् – यदि तपाईंलाई रोमान्टिक पार्टनर चाहिएको छ भने तपाईंले आफूलाई बुद्धिमान बनाउनुहोस् र दयालु व्यक्तित्वको विकास गर्नुहोस् । यसबाट सफलता प्राप्त हुने सम्भावना बढ्दछ ।
जोआओ र उनको टिमले १८ देखि ६४ वर्ष उमेरका करिब ८ सय जना मानिसमा सर्भे गरेका थिए । उनीहरुले फरक फरक गुण भएका रोमान्टिक पार्टनरहरुलाई छानेका थिए । त्यसमा शारीरिक आकर्षण, सामाजिक आर्थिक स्थिति, स्वास्थ्य, दयालुपना तथा बुद्धिमत्ताका विकल्प राखिएको थियो । जब ती विन्दुहरुमा उच्च बजेटको अवस्थामा मानिसहरुलाई छनोट गर्न लगाइयो, तब मानिसहरु हरेक विन्दुमा तयार भए । तर कम बजेटको अवस्थामा भने बुद्धिमत्ता र दयालुपनाको विकल्प सबैभन्दा अगाडि रहे ।
अधिकांश मानिसहरु आफ्नो रोमान्टिक पार्टनरसँग दीर्घकालीन सम्बन्ध चाहन्छन् । केवल कम समयका लागि मात्रै रोमान्टिक पार्टनरको खोजी गर्ने मानिसको संख्या निकै कम हुन्छ ।
रोमान्टिक पार्टनरको हकमा सामाजिक आर्थिक स्थितिलाई मानिसहरुले सबैभन्दा कम महत्व दिए । उनीहरुका अनुसार पैसा आवश्यक छ, तर यो नै सबैचिज होइन ।
यो अध्ययन हालै आर्काइभ्स अफ सेक्सुअल बिहेवियर जर्नलमा प्रकाशित भएको छ । जसमा शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् कि उपयुक्त रोमान्टिक पार्टनरका लागि सबैभन्दा महत्वपूर्ण भनेको उसको स्वास्थ्य, बुद्धिमत्ता र दयालुपना हो । जहाँसम्म पैसाको कुरा छ वा सामाजिक ओहोदाको कुरा छ, त्यसले त केवल उसको दिमागलाई फरक फरक तरिकाले चल्ने प्रक्रियालाई देखाउँछ । यी कुराले उसको दीर्घायूको अपेक्षा गर्न सकिन्छ तथापि समझदारी प्रेम र स्वास्थ्य हासिल हुन सक्दैन ।