एजेन्सी- बार्सिलोनाले रियल बेटिसलाई ५–१ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
खेल सुरु भएको तेस्रो मिनेटमै गाभीले गोल गर्दै बार्सिलोनालाई जितको मार्गमा डोर्याए। त्यसपछि पनि बार्सिलोनाले लगातार मौका सिर्जना गर्दै दबाब बनायो। खेलको २७औं मिनेटमा जुल्स कौण्डेले उत्कृष्ट प्रहारमार्फत दोस्रो गोल थप्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।
कौण्डेले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गरे पनि, भारतले गोल रद्द गरेको थियो ।
यामालले ५७ औं मिनेटमा गरेको गोलले पनि भारका कारण मान्यता पाएन ।
केही मिनेटपछि रफिन्हाले बार्सिलोनाको काउन्टर–अट्याकलाई सफल बनाउँदै बार्सिलोनाका लागि तेस्रो गोल गरे।
फेरान टोरेसले मैदान प्रवेश गरेको केही समयमै चौथो गोल थपे । ७५औं मिनेटमा यामालले अन्ततः आफ्नो गोल दर्ता गरे । सुरुमा अफसाइड भनिएको उनको गोललाई भारले मान्यता दिएको थियो ।
रियल बेटिसले खेलको अन्त्यतिर केही दबाब सिर्जना गर्यो। ८९औं मिनेटमा रोड्रिग्वेजलाई बक्सभित्र फउल गरेपछि पेनाल्टी दिइयो। रोकले पेनाल्टीलाई गोलमा परिणत गर्दै स्कोरलाई ५–१ मा ल्याए ।