पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

दीपक–दीपाको नयाँ प्रविधिको हल आजवाट उद्घाटन

२०८० भाद्र २९, शुक्रवार १२:५७ बजे

काठमाण्डौं–कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले संचालनमा ल्याएको नयाँ हलको आज शुक्रवार उद्घाटन गरिएको छ । काठमाडौंको नयाँ बाँनेश्वरमा अवस्थित ‘आइएनआई सिनेमाज’को आज नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
आईएनआइले व्यवस्थापन गर्ने यो हलमा २ पर्दा छन् । जसमा २१० र १७७ सिट क्षमता छ । उद्घाटन कार्यक्रममा बोल्दै हल संचालक दीपकराज गिरीले नेपाली फिल्मलाई ५० प्रतिशत शेयर दिने घोषणा गर्नुभएको छ । उहाँले भने–‘निर्माताहरुको असन्तुष्टी शोज बाँडफाँडमा त छदै छ । शेयरमा पनि हो । यो बिषयमा कार्यदलले छलफल गरिरहेको छ । तर, हामी भने यो हलमा नेपाली फिल्मलाई ५० प्रतिशत शेयर दिने घोषणा गर्दछौं ।’
नेपाली फिल्मले रिलिजको पहिलो साता ५०, दोश्रो साता ४५, तेश्रो साता ४० र त्यसपछि ३५ प्रतिशत शेयर पाउँदै आएका छन् । तर, अब आइएनआई नयाँ बाँनेश्वरमा भने नेपाली फिल्म जति साता चलेपनि ५० प्रतिशतनै शेयर पाउनेछन् ।
कार्यक्रममा बोल्दै दीपकराज गिरीले नेपाली फिल्मलाई प्राथमिकता दिने बतानुभएको छ । उहाँले, निर्माताबाट हल संचालक बन्दै गर्दा आफूले बिचमा बसेर कुरा गर्नुपर्ने अवस्था आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी चन्द्र ढकाल र विशेष अतिथी हरिवंश आचार्यले हलको सफलताको शुभकामना दिनुभएको थियो ।
आजैबाट यो हलमा फिल्म रिलिज पनि प्रारम्भ भएको छ । करिब १० करोड बजेटमा तयार पारिएको हलमा अत्याधुनिक प्रविधि जडान गरिएको बताइएको छ । साउन्ड सिस्टममा पनि नेपालमै पहिलो पटक नयाँ प्रविधि भित्राइएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।