पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

६० किलो सुन प्रकरण :दावा छिरिङका सहयोगी बस्नेत भारतबाट पक्राउ

२०८० भाद्र १३, बुधवार १८:०८ बजे

काठमाडौँ–हङकङबाट काठमाडौँमा तस्करी भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले थप एक जनालाई भारतबाट पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेत भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।
उनलाई बुधबार काठमाडौँ ल्याइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अनुसन्धान अधिकृतले जानकारी दिए । बस्नेत सिन्धुपाल्चोकका स्थायी बसिन्दा हुन् भने दावाले भनेअनुसार उनले सामान खरिद गरेर सुन लुकाएर तस्करीमा सहयोग गर्ने गरेका थिए ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो ।
सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । बज्राचार्य सीआईबीकी निर्देशक हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले एसपी सञ्जयसिंह थापाको कमाण्डमा टिम बनाएर साउन २२ देखी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
समितिमा विशेष ब्यूरोका डीआईजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई संगठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।