पाठशाला न्यूज
 २०८१ कार्तिक २२, बिहीवार    

सिनेमा हल परिसरमा राखिएका क्याफेले खाने कुरामा बढी मूल्य लिए कारबाही हुने

२०८१ कार्तिक ७, बुधवार ०७:५३ बजे

काठमाडौं- सिनेमा हल परिसरमा राखिएका क्याफेले अबदेखि प्रशोधित बोतलको पानी र अन्य प्याकेजिङ गरेका खाने कुरामा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिन नपाउने भएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित बोतलको पानी र अन्य प्याकेजिङ गरेका खाने कुरामा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिए कारबाही गर्ने भएको छ।

विभागमा महानिर्देशक राजन पोखरेलको नेतृत्वमा सोमवार नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग छलफल गर्दै सिनेमा हल परिसरमा बिक्री गर्न राखिएका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने जानकारी गराएको हो। त्यसरी बढी मूल्य लिएमा कानुन अनुसार कारबाही हुने चेतावनी समेत दिएको छ । 

सिनेमा हेर्न जानेलाई बाहिरबाट पानी र खानेकुरा लग्न नपाइने र भित्र किन्दा बाहिर पर्ने मूल्यभन्दा दोब्बरभन्दा बढी हुने गरेको गुनासोका आधारमा विभागले नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग त्यसरी छलफल गरेको हो । 

विभागका अनुसार विभागले पछिल्लो पटक प्याकेजिङ गरेका वस्तुको बढी मूल्य लिने होटल, रेस्टुराँ, सिनेमालक्षित अनुगमन गर्दै आएको छ । सिनेमा हल परिसरभित्र रहेका क्याफे, अधिकांश ठुला वा नाम चलेका होटल मात्रै होइन साना होटलमै पनि सर्भिस भन्दै प्याकेजिङ गरेका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिने गरेका छन् । अब जुनसुकै ठाउँ चाहे होटल होस् चाहे सिनेमा हल प्याकेजिङ गरेका वस्तु (प्रशोधित बोतल वाटर, अन्य खानेकुरा) मा तोकिएको मूल्यभन्दा बढी लिएमा कारबाही हुन्छ । 

विभागका अनुगमन शाखाका निर्देशक डिकबहादुर कार्कीले अबदेखि सिनेमा हल सञ्चालकले प्याकेजिङ गरेका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने गरी नेपाल चलचित्र सङ्घमातहतका हललाई पत्राचार गर्न लिखित निर्देशन दिएको जानकारी दिए । एक/दुई दिनपछि सिनेमा हलमा गएर मूल्यका विषयमा छड्के अनुगमन गर्ने र कार्यान्वयन नभएमा कानुन अनुसार कारबाही हुने समेत उनले बताए। कानुन अनुसार बढी मूल्य लिनेलाई तीन लाख रुपियाँसम्म जरिवाना र एक वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ, उनले थप स्पष्ट पार्दै भने।