पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

न्यूरालिंकको पहिलो मानव मस्तिष्क प्रत्यारोपणमा समस्या देखियो

२०८१ वैशाख २७, बिहीवार १४:५७ बजे

एजेन्सी- एलोन मस्कको स्टार्टअप न्यूरालिंकले बुधबार पहिलो पटक मानव रोगीको मस्तिष्कमा प्रत्यारोपण गरेको प्रणालीमा खराबी आएको बताएको छ। 

न्यूरालिंकले निर्माण गरेको मष्तिष्क-कम्प्युटर इन्टरफेस (बिसिआइ) ले बाहिरी प्रविधिको माध्यमले आफ्नो दिमागको सहयोगमा पक्षघात भएका बिरामीहरुको मद्दत गर्दछ ।

न्यूरालिंकको वेबसाईटमा उल्लेख भएअनुसार लिङ्क भनिने कम्पनीको प्रणालीले मानिसको कपाल भन्दा मसिनो थ्रेडहरु भएर एक हजार २४ इलेक्ट्रोडहरुको प्रयोग गरेर संकेतहरुको रेकर्ड गर्दछ । 

यसअघि यहि जनवरीमा न्यूरालिंकले यसको परीक्षण गर्न अध्ययनको एक भागको रूपमा नोल्याण्ड अर्बाग नामक २९ वर्षीय बिरामीमा उपकरणको प्रत्यारोपण गरेको थियो। कम्पनीले मार्चमा बीसीआई प्रयोग गर्दा अर्बागसँग लाइभ भिडियो स्ट्रिम गरेपश्चात न्यूरालिंकले अप्रिल ब्लग पोस्टमा शल्यक्रिया अत्यन्त राम्रो भएको प्रतिक्रिया दिएको थियो। 

तर त्यसपछिका हप्ताहरूमा अर्बागको दिमागबाट धेरै थ्रेडहरू फिर्ता भएका छन् । न्यूरालिंकले बुधबार एक ब्लग पोस्टमा भने अनुसार त्यहाँ कम प्रभावकारी इलेक्ट्रोडहरू थिए, जसले लिङ्कको गति र शुद्धता मापन गर्ने कम्पनीको क्षमतालाई रोकेको थियो।

एक समाचार संस्था सिएनबिसिलाई प्रतिक्रिया दिनेक्रममा न्यूरालिङ्कले टिस्युबाट कति थ्रेडहरू फिर्ता भएको खुलासा भने गरेन। 

तर आफ्नो ब्लग पोष्टमा समाधानको रूपमा न्यूरालिङ्कले रेकर्डिङ एल्गोरिथ्म परिमार्जन गरेको छ, प्रयोगकर्ताको इन्टरफेस बढाएको छ र कर्सरले संकेतहरू अनुवाद गर्ने प्रविधिहरूमा सुधार गर्न काम गरेको छ ।

सुरुमा न्यूरालिंकले प्रत्यारोपण गरेको इम्प्लान्ट हटाउने विचार गरेतापनि अर्बागको सुरक्षामा प्रत्यक्ष जोखिम नदेखिएको आफ्नो ब्लगमा बताएको छ । 

न्यूरालिंकले अर्बागको मस्तिष्कको तन्तुबाट केही थ्रेडहरू फिर्ता भएतापनि बिसिआइ प्रणाली दिनमा लगभग आठ घण्टा र सप्ताहन्तमा दिनको दस घण्टासम्म प्रयोग भएको जनाएको छ।