पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

मधेश प्रदेशको बजेट उत्पादनशील क्षेत्रमा प्राथमिकता

२०८० जेठ २०, शनिबार ११:०३ बजे

जनकपुरधाम–मधेश प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा रहेको छ ।

शुक्रबार प्रदेशभामा अर्थ मन्त्री संजय कुमार यादवले विनियोजन विधेयक २०८० प्रस्तुत गरेका छन् । विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा मन्त्री यादवले प्रस्तुत गर्दै विधेयकले यस वर्ष उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । ‘उत्पादकत्व क्षेत्रमा वृद्धि गरिनेछ ।
उत्पादनशील क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी गरी रोजगारका अवसरहरु बढाइने छ । समग्रमा समृद्ध अर्थतन्त्र र उत्पादनशील तथा कृषिमा केन्द्रित बजेट रहनेछ । हरेक प्रकारका लगानीलाई सुरक्षित गरिनेछ ।
राजस्व संकलनलाई प्रविधिमैत्री बनाइने छ,’विनियोजन विधेयकमा व्यवस्था गरिएको उनले जानकारी दिए । उत्पादनशील तथा परिणाममुखी योजनालाई प्राथमिकता दिइने सरकारको तयारी रहेको बताउँदै उनले प्रादेशिक गौरव र रणनीतिक आयोजनामा रकम अभाव हुन नदिइ बजेट कार्यान्वयनलाई परिणाममुखी बनाइने बताए ।

आगामी आर्थिक वर्षको बजेट दिगो विकासका लक्ष्यसहित फराकिलो बनाइने चर्चा गर्दै उनले साधारण खर्चमा वृद्धि हुँदै गएको र असारे विकासको प्रवृति अझै मौलाएकाले यस्ता क्रियाकलापलाई आगामी बजेटमा निरुत्साहित गर्ने मन्त्री यादवले बताए । अनुतपादक क्षेत्रको खर्च पनि कटौती गरिनेछ । तर, विगतको नीति तथा कार्यक्रम र बजेटमा वाचा गरिएको सकारात्मक प्रतिबद्धताप्रति केन्द्रित रहने र प्राविधिक शिक्षामा जोड दिइने,प्राविधिक विश्वविद्यालयको भौतिक संरचना बनाइने र सप्तरीदेखि पर्सा सम्मको प्रादेशिक शहीद लोक मार्ग निर्माण गरिने ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा पाँच–पाँच किलो मिटर सडक र मझौला सिँचाइको लागि पूर्वाधार निर्माण गरिने उनले बताए ।

कृषि क्षेत्रमा विद्युत्ीकरण विस्तार गरी कृषिलाई व्यवसायी नाफामूलक बनाइने र अगामी २०८३ सालमा हुने ११ औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा सम्पन्न गर्न खेल पूर्वाधारको विकास गरी खेलकुद व्यवस्थापनको लागि प्रदेश खेलकुद परिषद् गठन गरिने मन्त्री यादवले जनाए ।