पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआइ विश्वकप क्रिकेट २०२३: एकदिवसीय विश्व च्याम्पियन इंग्ल्याण्डलाई‌ अफगानिस्तानले ६९ रनले हरायो

२०८० आश्विन २८, आइतवार २२:३६ बजे

दिल्ली/भारत- आइतबार हालको एकदिवसीय विश्व च्याम्पियन इंग्ल्याण्डलाई‌ अफगानिस्तानले ६९ रनले हराएर आफ्नो क्रिकेट इतिहासमा सबैभन्दा ठूलो जित दर्ता गरेको छ ।   

दिल्लीमा भएको विश्वकप–२०२३ को यो खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङको निम्तो पाएपछि २८४ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको टोली ४०.३ ओभरमा २१५ रनमा अलआउट भएको थियो ।

दिल्लीको अरुण जेटली क्रिकेट स्टेडियममा विश्वकप क्रिकेटमा इङ्ल्यान्ड र अफगानिस्तानबीचको खेलमा इंग्ल्याण्डका कप्तान जोस बटलरले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । अफगानिस्तानले ओपनर रहमानुल्लाह गुरबाज (८०) र विकेटकिपर ब्याट्सम्यान इक्रम अलिखिल (५८) को अर्धशतकीय मद्दतमा २८४ रन बनाएको थियो । गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । इंकरामले ६६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । इंग्ल्याण्डका लागि आदिल रसिदले ३ विकेट लिए भने मार्क वुडले २ विकेट लिए । रिस टोपली, लियाम लिभिङस्टोन र जो रुटले १–१ विकेट लिए ।

हस्मातुल्लाह शाहिदीको कप्तानीमा रहेको टोली अफगानिस्तानले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिले बंगलादेशसँग ६ विकेटले र त्यसपछि भारतसँग ८ विकेटले पराजित भएको थियो । योसँगै इंग्ल्याण्डले ३ खेलमा दोस्रो हार बेहोरेको छ । जोस बटलरको कप्तानीमा रहेको टोली पहिलो खेलमा न्युजिल्याण्डसँग ९ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई १३७ रनले पराजित गरेको थियो ।