पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

भारतसँगका सम्झौताको समीक्षा गर्दै माल्दिभ्स

२०८० मंसिर ४, सोमवार १३:३९ बजे

काठमाडौं : माल्दिभ्सले भारतसँग भएका १०० वटा सम्झौताको समीक्षा गर्न सुरु गरेको बताएको छ । यससँगै माल्दिभ्सको नयाँ सरकारले आफ्नो भूमिमा रहेका ७७ जना भारतीय सेनालाई फिर्ता पठाउने प्रक्रिया पनि सुरु गरेको जनाएको छ ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई औपचारिक रुपमा आफ्ना सैनिक स्वदेश फर्काउन आग्रह गरेको भोलिपल्ट भारतसँगका सम्झौताको समीक्षा गर्ने काम पनि सुरु भएको घोषणा गरिएको हो ।
माल्दिभ्सको राष्ट्रपति कार्यालयका सचिव मोहम्मद फिरोजुल अब्दुल खलीले पत्रकार सम्मेलनमा माल्दिभ्समा ७७ जना भारतीय सैनिक रहेको जनाएका हुन् ।
माल्दिभ्सका मिडियाले फिरोजुललाई उद्धृत गर्दै हेलिकोप्टरको व्यवस्थापन गर्न २४ जना, डोर्नियर विमानको व्यवस्थापन गर्न २५ जना, अर्को एक हेलिकोप्टर व्यवस्थापन गर्न २६ जना र इन्जिनियरिङ सेवाको लागि दुईजना भारतीय सैनिक हाल माल्दिभ्समा रहेको उल्लेख गरेका छन् ।
गत सेप्टेम्बरमा राष्ट्रपतिको चुनाव जितेका मुइज्जूले माल्दिभ्सबाट ७७ जना भारतीय सेना हटाउने प्रक्रिया सुरु गरेको फिरोजुलले बताएका छन् । हिन्द महासागरमा रहेको टापु राष्ट्र माल्दिभ्स भारतको लागि रणनीतिक रुपमा महत्वपूर्ण देश हो । इब्राहिम मोहम्मद सोलिहको सरकारको पालामा भारत र माल्दिभ्सको सम्बन्ध निकै सुमधुर रहेको थियो । नयाँ राष्ट्रपतिको निर्वाचनको समयमा मुइज्जूले आफू निर्वाचित भए माल्दिभ्सबाट भारतीय सेना हटाउने प्रतिवद्धता जनाएका थिए । सोहीअनुसार उनले अहिले भारतीय सेना हटाउन लागेका हुन् ।