पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

छोरी जन्मिए पछि अस्पताल मै छाडेर आमा भागिन्

२०८० फाल्गुन १३, आईतबार २१:५४ बजे

जलेश्वर सर्राफ 

वीरगंज- छोरी जन्मिएको भन्दै परिवारले झैझगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा हिंडेकी छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा फागुन १२ गते बिहान ६ः३० बजे सीता देवीले शिशुलाई जन्म दिएकी थिइन्। तीन केजीकी शिशु स्वस्थ रहेको अस्पतालले जनाएको छ।

सुत्केरी व्यथा लागेपछि उनी सासूआमा बेडी देवीसँगै फागुन ११ गते बेलुका अस्पताल आएकी थिइन्। अस्पतालमा भर्नाको लागी उनीहरूले ‘रानीघाट-६, वीरगन्ज’ ठेगाना टिपाएका थिए।

सितालाई व्याथा च्यापेर वार्डमा लगिएको केहिबेर पछि छोरी जन्मिएको खबर पाएपछि सीतासँग उनको सासु बेडीले झगडा गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताएका थिए। अस्पतालमै पनि परिवारजनले तनाव दिएको जस्तो देखिएको उनीहरूको भनाइ छ। सीताले यसअघि पनि तीन छोरीको जन्म दिईसककेकी छिन्।

उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै थिए। साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिंडेका हुन् भन्ने आशन्का गरिएको छ।

नारायणी अस्पतालका स्वास्थ्यकर्मीले साँझपख बेडमा शिशु मात्रै देखेपछि खोजी गरेका थिए। तर उनिहरुको कुनै अतोपतो भेटिएन। आइतबार मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पताल श्रोतले जनाएको छ।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिंडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले जानकारी दिएकी छिन्।भर्ना गरिएका दिन अस्पतालमा सासू र बुहारी मात्रै आएका थिए। श्रीमान् खै भनि अस्पतालका कर्मचारीले सोध्दा ईण्डिया तिर कमाउन गएका छन् भनेर जवाफ दिएकी थिइन्,” थापाले भनिन्, “छोरी जन्मेपछि सासू रिसाइरहेकी थिइन्। शिशु नै छोडेर जालान् जस्तो लागेको थिएन। हिजैदेखि खोजिरहेका छौं, भेटिएका छैनन्।”

शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको हेमा थापाले बताएकि छिन्।

अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताए। “विस्तृत विवरण अस्पतालको रेकर्डमा छैन, रानीघाट-६ भनेर ठेगाना लेखाएका रहेछन्। दुवै जनासँग मोबाइल थिएन,” डा. साहले भने, “छोरी जन्मेका कारण नै छोडेर भागेको हुन सक्छ भने हाम्रो आशङ्का छ।

उता पर्सा जिल्ला प्रहरी कार्यालयको अनुसार उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। “उनीहरूले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन। पहिले नै योजना बनाएर नै यस्तो कार्यगरेको आशंका गरेका छौं,” डीएसपी थापाले भने। हाल तिनिहरुको हुलिया अनुसारका व्यक्तिहरूको खोजतलास जारी छ।