पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

आज देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०८० आश्विन १, सोमवार ०८:०६ बजे

काठमाण्डौं–जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू–भाग र मध्यप्रदेशको पश्चिमी भू–भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
आज (सोमबार) बिहानसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र देशका बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।