पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

२०८० सालमा दयाहाङको ९ फिल्म रिलिज

२०८० चैत्र २२, बिहीबार १६:३४ बजे

काठमाडौं : सन् २०८० को नेपाली फिल्म दयाहाङ राई प्रेरित बन्यो । ‘जारी’ रिलिजसँगै वर्ष प्रारम्भ भयो, ‘डिग्री माइला’सँगै वर्षको समापन हुनेछ । तर व्यापारको व्यावहारिक पाटो हेर्दा, ‘डिग्री माइला’को गणना २०८१ सालमा हुनेछ ।
यस वर्ष दयाहाङ अभिनित ९ फिल्म रिलिज हुँदैछन् (डिग्री माइला–चैत ३० समेत) । यीमध्ये जारी यस वर्ष सर्वाधिक कमाउने घरेलु फिल्म हो, जसले १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डले उल्लेख गरेको छ ।
वैशाख १ गते दयाहाङको शीर्ष भूमिका रहेका दुई फिल्म ‘जारी’ र ‘बिहेपास’ रिलिज भए । ‘बिहेपास’ले ९४ लाख रुपैयाँ मात्र कमाएको बोर्डको हिसाब छ ।
जेठमा रिलिज भएको ‘नीरफूल’ले ३९ लाख ११ हजार रुपैयाँ ग्रस कमाएको छ । यीबाहेक, यसवर्ष रिलिज भएका दयाहाङका अन्य फिल्मको आधिकारिक हिसाब सार्वजनिक गरिएको छैन । तर निर्माता र वितरकको आ–आफ्नै दाबी छ ।

भदौमा लागेको ‘नांगो गाउँ’ले सान्त्वना व्यापर गर्यो । कात्तिकमा रिलिज भएको दयाहाङको अर्को फिल्म ‘दिमाग खराब’ले तिहारको छेकोमा राम्रै कमाइ गर्यो । माघ २६ गते ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आए ।
दयारानीले कम्तीमा दुई करोडभन्दा माथि कमाइ गरेको तथ्यांक वितरकले दिएका छन् । तर ‘हात्तीछाप’ले आफूलाई अब्बल तुल्याउन सकेन । फागुनमा रिलिज भएको दयाहाङको ग्याङस्टर फिल्म ‘रंगेली’ व्यावसायिक रुपमा असफल रह्यो ।
एउटा फिल्मको लगानीको अनुपातलाई कम्तीमा एक करोड मान्दा दयाहाङका यस वर्ष रिलिज भएका सबै फिल्ममा १० करोडभन्दा बढी लगानी भएको देखिन्छ । सबै फिल्मको कमाइ कम्तीमा ३० करोड हुनसक्ने अनुमान छ ।
‘जारी’ ब्लकबस्टर हुँदा नांगो गाउँ, दिमाग खराब र दयारानी व्यावसायिक रुपमा सफल रहे । हाइप र ब्यानर हेर्दा चैत ३० गते प्रदर्शन तयारीमा रहेको ‘डिग्री माइला’ले पनि राम्रै कमाइ गर्न सक्ने अनुमान छ ।
२०८१ साल दयाहाङका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मको रुपमा उत्साहजनक हुने देखिन्छ । आउँदो वर्ष उनको निकै प्रतीक्षित ‘राजागञ्ज’ रिलिज हुँदैछ । यदि सबै कुरा ठीकठाक भयो भने यो फिल्मले कान्समा प्रिमियरको मौका पाउनेछ । यसबाहेक मनसरा, घरज्वाइँ उनका अन्य प्रतीक्षित फिल्म हुन् ।