पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

‘एमआरसिपी युके पेसेज’ परीक्षा नेपालमै

२०८० भाद्र २४, आइतवार १०:२२ बजे

ललितपुर–नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेज पूर्वअभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी र युनाइटेड किङ्डमस्थित रोयल कलेज अफ फिजिसियन्ससँगको सहकार्यमा एमआरसिपी युके प्राक्टिकल एसिसमेन्ट अफ क्लिनिकल एक्जामिनेसन स्किल्स पेसेजको पूर्वअभ्यास परीक्षा सञ्चालन गर्ने नेपालको पहिलो अस्पताल बनेको हो । सेप्टेम्बर ७ र ८ गते भएको परीक्षामा नेपालबाट २४ डाक्टरले सहभागिता जनाएको मेडिसिटीले जनाएको छ ।
मेडिसिटीका अनुसार एमआरसिपी परीक्षा क्लिनिकल विशेषज्ञतामा थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाइन गरिएको हो । फेडेरेसन अफ रोयल कलेज अफ फिजिसियन्स युकेको विश्वव्यापी मापदण्डअनुसार परीक्षाको पूर्वअभ्यास सञ्चालन गरिएको थियो । जहाँ पाँच स्टेसन थिए, जसको माध्यमबाट परीक्षार्थीलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताका लागि मूल्यांकन गरिएको थियो ।
शनिबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा एमआरसिपी युके परीक्षाको पूर्वअभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसस्तरको प्रतिष्ठित परीक्षा, जसले डाक्टरको क्लिनिकल विशेषज्ञता मूल्यांकनमात्र गर्दैन, यसले बिरामी सुरक्षाका मुद्दा र सञ्चारलगायत सफ्ट स्किलहरू पनि हेर्छ र एक डाक्टरलाई विशेषज्ञ बन्न सहयोग पु¥याउँछ, यस्तो परीक्षा सञ्चालन गर्नु देशकै लागि महत्वपूर्ण उपलब्धि हो ।’ उहाँले नेपाल निकट भविष्यमै मेडिकल शिक्षालगायत सेवा क्षेत्रको पनि हब बन्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष महतोले भन्नुभयो, ‘नेपालमा जे छ, त्यो अन्त कतै छैन, नेपाल विश्वकै सुन्दर देश हो, नेपालजस्तो सुन्दर र आध्यात्मिक देश कुनै छैन । हामीसँग पैसाको मात्रै कमी हो । त्यो हामी कमाउन सक्छौँ । नेपालले ऊर्जा क्षेत्रमा गरेको जस्तै प्रगति सेवा क्षेत्रमा पनि गर्न सक्छ । सेवा क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।’
तर, उहाँले नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य प्रदान गर्ने अस्पताललाई विश्वास नगरी उपचारका लागि विदेशतिर दौडिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष महतोले भन्नुभयो, ‘हामीलाई विश्वास गरेर विदेशीहरू पनि उपचारका लागि यहाँ आउँछन् तर नेपालीहरू भने केही भयो भने छिमेकी मुलुकतिर दौडिन्छन् । नेपालको मेडिकल क्षेत्र राज्यबाटै उपेक्षित छ ।’
कार्र्यक्रममा फेडेरेसन अफ रोयल कलेज अफ फिजिसियन्स अफ युकेका प्रतिनिधि डा. तन्जिम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीलगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाल मेडिसिटीमा एमआरसिपीको नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा. निरज जोशीले भन्नुभयो, ‘नेपाल मेडिसिटीमा एमआरसिपीको परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्कबिना अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसर खुल्नेछ । यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभाव पूर्ति गर्न सहयोग पुग्नेछ ।’ उक्त परीक्षामा उत्तीर्ण नेपाली चिकित्सकले नेपालमा मात्र होइन विश्वका जुनसुकै मुलुकमा चिकित्सकीय सेवा गर्न पाउने बताइएको छ ।

मेडिसिटी अस्पतालमा एमआरसिपी युकेको क्लिनिकल पाइलट परीक्षापछि निकट भविष्यमा परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । यस्तो परीक्षामा नेपालका प्रशिक्षार्थी चिकित्सकमात्रै नभएर दक्षिण एसियाकै चिकित्ससमेत सहभागी हुनसक्ने मेडिसिटीको भनाइ छ । यसअघि पेसेज परीक्षामा सहभागी हुन चिकित्सकहरू बेलायत नै पुग्नुपर्ने बाध्यता थियो । तर, उक्त सुविधा नेपालमै हुने भए पनि परीक्षार्थीको लागत खर्चसमेत बचत हुने मेडिसिटीले जनाएको छ ।