पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२०८१ वैशाख २०, बिहीवार १९:०४ बजे

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तापछि प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।
उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो । संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुग्नुभएका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिएका थिए ।