पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

अनिता केसीले प्रीतिको स्थानमा आई लिग खेल्ने

२०८० फाल्गुन २५, शुक्रबार १२:२६ बजे

काठमाडौं : मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आई लिग खेल्ने भएकी छन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएसँगै तीन महिना मैदानबाहिर हुने भएकी छन् ।
प्रीति भारतीय आई लिगमा किक स्टार्समा अनुबन्ध थिइन् । घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो ।
किक स्टार्सले खेल्न बाँकी तीन खेलमा अनिता रहनेछिन् । अनिताले पहिलोपटक आई लिग खेल्न उत्साहित रहेको बताइन् ।
“पहिलोपटक आई लिग खेल्ने अवसर पाएको छु, त्यसको लागि निकै उत्साहित छु,” अनिताले भनिन्, “प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।”
किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ । तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ । यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मीकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा आबद्ध छन् । रश्मी र अमृता स्पोर्ट्स उडिसामा आबद्ध छन् ।