पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

सैफ अली खान माथि घर भित्रै छुरा प्रहार

२०८१ माघ ३, बिहीवार १५:१७ बजे

काठमाडौं– बलिउड अभिनेता सैफ अली खानको बान्द्रामा रहेको घरमा चोरी गर्ने क्रममा एक अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको छ। आक्रमणको क्रममा उनको घाँटी र हातमा चक्कुले प्रहार गरिएको थियो। जसमा उनी घाइते भएका छन्।

आक्रमणपछि सैफलाई राति २ बजे लीलावती अस्पतालमा लगिएको थियो। अहिले उनकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।

लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीका अनुसार आक्रमणका क्रममा सैफको मेरुदण्डको हड्डीमा चक्कुो एक टुक्रा अड्किएको छ । अपरेशनपछि उक्त चक्कु निकालिएको छ ।

सैफको बायाँ हातमा दुई गहिरो घाउ लागेको छ । गर्दनमा पनि उस्तै गहिरो चोट छ । यी दुवैको प्लास्टिक सर्जरी गरिएको छ । अहिले उनको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्।

मुम्बई पुलिसका डीसीपी गेदाम दीक्षितले बताएअनुसार आक्रमणमा संलग्नको पहिचान भएको छ । ती व्यक्ति भर्‍याङबाट चढेर १२ औँ तलामा पु्गेका थिए । आक्रमणपछि ती व्यक्ति भर्‍याङबाटै भागेका थिए । ती व्यक्तिलाई राति उक्त अपार्टमेन्टमा देखिएको थियो ।

पुलिसका अनुसार सैफको घरबाट तीनजनालाई सोधपुपछका लागि चौकी लगिएको छ । यीनमा घाइते भएकी घरकी कामदार पनि छन् । सुरुवाती जाँचमा घरभित्रकै एक व्यक्तिले आक्रमणकारीलाई छिर्न दिएको खुलेको छ । घरभित्र पस्न ती व्यक्तिले कुनै बल प्रयोग नगरेकाले ढोका खोलिदिएको आशंका गरिएको छ ।

समाचार अनुसार घटनाको समयमा सैफ-करिनाका छोरा तैमूर-जेहको कोठामा थिए । कोठामा कामदार अरियामा फिलिप अर्थात् लीमा पनि थिइन् । जसलाई अज्ञात व्यक्तिले समातेका थिए । उनी चिच्याएपछि सैफ बच्चाको कोठामा पुगेका थिए । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले आक्रमण गरेका थिए । यस क्रममा घाइते कामदारलाई पनि लीलावती अस्पताल लगिएको छ ।

बान्द्रा पुलिस स्टेशनले आक्रमणकारीलाई खोजीका लागि १० वटा टोली बनाएको छ । अर्कातिर क्राइम ब्रान्चले पनि अनुसन्धानका लागि आठवटा टोली बनाएको छ। क्राइम ब्रान्च जाँचका लागि सैफको घरमा पुगेको छ । इनकाउन्टर स्पेशलिस्ट दया नायक पनि टोलीमा छन् ।