पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

आज देशका केही स्थानमा वर्षाको सम्भावना

२०८१ जेष्ठ २०, आइतवार ०७:३४ बजे

काठमाडौं : आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
“तराईमा पनि केही बदली त हुने सम्भावना छ, तर मुख्यतया सफा हुनेजस्तो देखिन्छ,” उनले भने, “विशेष गरी कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । अरू एक\दुई स्थानमा पनि सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”
हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् लामिछानेका अनुसार आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।

“बादल हुने, खुलेको जस्तो उज्यालो हुने, घामचाहिँ बिहान हुन्छ,” उनले भने, “दिउँसो, अपराह्न बादल र वर्षाको सम्भावना देखिन्छ । घामको सम्भावना छैन ।”
आइतबारको तुलनामा सोमबार र मंगलबार वर्षाको सम्भावना कम रहेको उनले बताए । नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको उनले उल्लेख गरे । नेपालमा मनसुनी प्रभाव सुरु नभएको उनले जानकारी दिए । स्थानीय र पश्चिमी वायुकै प्रभाव रहेको उनले स्पष्ट पारे ।