पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

जब लण्डनको सडकमा पोखियो १४ लाख लिटर बियर

२०८० पौष २८, शनिवार ०८:५४ बजे

एजेन्सी : काठले बनेका मदिराको ट्यांकीमा लगाइएका फलामको रिङहरु फुस्किने र त्यसको मर्मत गर्ने कुरा सामान्य थियो । त्यसैले सन् १८१४ अक्टोबर १७ को तेस्रो प्रहरमा लण्डनस्थित हर्स शू ब्रुअरीका कर्मचारीले पनि कारखानामा रक्सी भरिएको एउटा भीमकाय ट्यांकीको बाँधिएको रिङ फुस्किन लागेको देखे र मर्मत गर्नुपर्ने भन्ने सन्देश लेख्नका लागि कार्यकक्षमा गए ।
सन् १७६४ मा स्थापित यो ब्रुअरीले केवल पोर्टर भनिने कालो रंगको बियर उत्पादन गर्दथ्यो । सो पेयको लोकप्रियताको कारणबाट बेलायतका दुई ठूला कम्पनीमध्ये एक हेनरी मेभ एण्ड कम्पनीको स्वामित्वमा रहेको उक्त ब्रुअरीले वर्षमा एक लाख ब्यारेल बियर उत्पादन गर्दथ्यो ।
पत्रकार क्रिस्टोफर क्लिनका अनुसार ब्रुअरीको भण्डारगृहमा काठका २२ फुट अग्ला ट्यांकीमा रक्सी राखिन्थ्यो । ट्यांकीलाई चारैतर्फबाट फलामका धेरै ठूला रिङहरुले बाँधिएको हुन्थ्यो । त्यसमध्ये कतिपय छल्लाको वजन एक टनसम्म हुन्थ्यो । भरिएको एक ट्यांकीमा करीब ३ हजार ५५५ ब्यारेल अर्थात् पाँच लाख लिटर भन्दा धेरै बियर हुन्थ्यो ।
त्यसदिन फुस्किएको एउटा फलामे रिङको मर्मतको सन्देश पठाउन गएका कर्मचारीको हातमै त्यो सन्देश थियो जतिबेला उनले मदिराशालाको भण्डारगृहबाट केही चिज खसेको जस्तो निकै ठूलो आवाज सुने । त्यतिबेला बेलुकीको साढे ५ बजेको थियो । उनी आवाज आएको दिशातर्फ दौडिए ।
पोखियो ६ देखि १४ लाख लिटर बियर
पत्रकार मार्टिन कर्नलका अनुसार मर्मत गर्नुपर्ने भनेर उनले सन्देश पुर्याउन लागेकै ट्यांकी फुटेको रहेछ र सो दुर्घटनामा ब्रुअरीको २५ फुट अग्लो भित्तो र छतको अधिकतम भाग पनि भत्किएको थियो । त्यो दृश्यले उनी निकै भयभित भए ।

अझ स्टोरहाउसका सुपरिटेन्डेन्ट समेत रहेका उनका भाइ र अन्य धेरै घाइते कर्मचारीहरु भग्नावशेषमुनि बेवारिस अवस्थामा छटपटाइरहेको देख्दा उनी झनै त्रसित बने ।
इँटा र भग्नावशेष मिश्रित बाढीका कारण न्युस्ट्रिटमा दुईवटा घर भत्किएका थिए । एक अनुमान अनुसार त्यसक्रममा हर्स शू ब्रुअरीबाट ६ देखि १४ लाख लिटर बियर पोखिएर १५ फुट अग्लो मदिरा बाढीको छाल निस्किएको थियो ।
रक्सीको बाढी कारखानाको पछाडि रहेको कच्ची घरको वस्ती सेन्ट जाइल्स रुकरीतर्फ अघि बढेको थियो । सेन्ट जाइल्स को स्थापना १७औँ शताब्दीमा एक धनाढ्य परिवारले पश्चिम लण्डनस्थित ब्रेन ब्रिजको भूमिमा गरेको थियो ।
फाइदाको लोभमा त्यहाँ तिव्र गतिमा त्रुटिपूर्ण निर्माण कार्य हुँदै गयो । जसको फलस्वरुप त्यो अँध्यारा गल्लीयुक्त निकै घना वस्तीमा परिणत भयो । १८औं शताब्दीसम्म यो घनाबस्ती लण्डनका अपराधीहरुका लागि कुख्यात रहेका कच्चीघरहरुको बस्तीको रुपमा चिनिन्थ्यो । त्यहाँ गरीब, बेरोजगार, अपराधी तथा ठूलो संख्यामा आइरिश शरणार्थीहरु बस्दथे । त्यहाँ घरभित्र मानिसहरु यसरी कोचिएर बस्दथे कि बाटो तथा भान्सामा समेत सुत्नु पर्थ्यो । कहिलेकाहीँ त एउटै कोठामा धेरै परिवार पनि बस्नुपर्थ्यो ।
दी डेन्स अफ लण्डन पुस्तकमा जोन डंकोमले लेखेका छन् कि १९औँ शताब्दीको सुरुवातसम्म जाइल्समा अपराध, देह व्यापार तथा फोहोर चरमस्तरमा थियो ।
केजिंग हाउसेस भनिने कुखुराको खोरजस्ता त्यहाँका घरहरुमा विभिन्न अपराधिक कार्य गर्ने मानिसहरुले शरण लिन्थे । भुलभुलैया जस्ता गल्ली र त्यसमा बनेका खोल्साखाल्सीका कारण पुलिसले पनि त्यहाँ भेउ पाउँदैनथ्यो ।

जाइल्समा त्यसदिन अझै साँझ परेको थिएन र मानिसहरु आफ्नो दैनिकीमा लागिरहेका थिए ।
रक्सीको बाढी
ढल निकासको जर्जर व्यवस्था आमरुपमा अस्वस्थता तथा विभिन्न रोगव्याधीको संक्रमणको कारक बन्दछ । जब त्यहाँ रक्सीको बाढी आयो तब घरहरुसँगै मानिसहरु पनि डुबे । त्यसपछि त्यहाँ उद्धारको काम तीव्र रुपमा सुरु भयो । मानिसहरु बियरको बाढीमा कम्मर सम्म डुब्दै पुरिएका मानिसहरुको खोजी गरिरहेका थिए ।
विध्वंसको डरलाग्दो असर प्रष्ट देखिन्थ्यो र घाइते तथा समस्याग्रस्त मानिसहरु सडकमा आएर रोइरहेका थिए । वस्तीको भग्नावशेषमा फसेका मानिसहरुको चिच्याहट सुनेपछि उनीहरु भग्नावशेष हटाउँदै जिवित मानिसहरुलाई बाहिर निकाल्न पुग्थे । यो दुर्घटनाको क्षतिका बारेमा सन् १८१४ अक्टोबर १९ मा भएको कोरोनर छानबिनका साक्षीहरुको बयानबाट पनि थाहा हुन्छ ।
सुरुमा मृतकको संख्या निकै धेरै हुनसक्ने आशंका गरिएको थियो, किनकि सेनट जाइल्समा लगभग हरेक ठाउँमा मानिस बसेका थिए । तर जब बाढी रोकियो तब केवल ८ जनाको मात्रै मृत्यु भएको पत्ता लाग्यो । ज्यान गुमाउनेमा अधिकांश महिला र बच्चा थिए ।
दुर्घटना स्थल
सो दुर्घटनामा धेरै मानिस घाइते भए, जसमा ब्रुअरीकै ३१ क्रमचारी पनि थिए । तर ब्रुअरीका कसैले पनि ज्यान गुमाउनु परेन ।
घटनाको छानबिनका क्रममा दर्शकको एक ठूलो भीड बाढीको दृश्य हेर्न पुग्यो । पत्रकार क्लिनका अनुसार ब्रुअरीका कर्मचारीहरुले कारखानाको दुर्घटनास्थल हेर्न दिनका लागि मानिसहरुसँग पैसा असुली गर्न पनि सुरु गरे ।

अर्को रोचक कुरा त के भने उक्त बाढीमा ज्यान गुमाउनेका परिवारले समेत आफ्नो मृतक सदस्यको लास हेर्न आउनेसँग पनि शुल्क लिएका थिए । कारखानामा लास राखिएको कोठामा लास हेर्नका लागि यतिधेरै बाहिरी मानिसहरु पुगे कि त्यो कोठाको तला नै भत्कियो र मानिसहरु बियर भरेर राखिएको तल्लो तलामा खसे । वास्तवमा १९औं शताब्दीमा मानिसका शवहरु पनि निश्चित रुपमा पर्यटकको आकर्षणको केन्द्र बन्दथे ।
दुर्भाग्य र परिस्थितिवस दुर्घटना
छानबिनका क्रममा उक्त बाढीको भयानकता निकै उच्च रहेको र एउटा ट्यांकी फुट्दा पोखिएको बियरले अन्य ट्यांकी पनि फुटाउँदा ठूलो बाढी आएको पत्ता लाग्यो । साथै छानबिनले उक्त दुर्घटनामा ब्रुअरीको कुनै गल्ती नरहेको र परिस्थिति तथा दुर्भाग्यका कारण सो दुर्घटना र जनधनको क्षति भएको निष्कर्ष निकाल्यो ।
साथै दुर्घटनामा मृत्यु भएकाका परिवार तथा घर सम्पत्ति गुमाएका हरुले पनि क्षतिपूर्ति पाएनन् । त्यसक्रममा ब्रुअरीलाई २३ हजार पाउण्ड बराबरको क्षति पुगेको अनुमान गरिएको थियो । त्यसलाई टाट पल्टिनबाट बचाउनका लागि सरकारले पहिले लिइएको अन्तशुल्क फिर्ता गर्दै कम्पनीलाई ७ हजार २५० पाउण्ड प्रदान गर्यो, जुन आज करिब ४ लाख पाउण्ड बराबर हो ।
उता पीडित मानिसहरुलाई सरकारबाट कुनै सहयोग नमिलेको भएपनि लण्डनका अन्य क्षेत्रबाट आएका मानिसहरु, जसमध्ये अधिकांश गरीब थिए, ले विभिन्न सहयोग प्रदान गरे र कम्तिमा मृतकहरुको सम्मानजनक रुपमा अन्तिम संस्कार गर्न मद्धत गरे ।
आइरिस शरणार्थी
बेन जोन्सनको शोध अनुसार उक्त बाढीपछि कैयन् दिनसम्म स्थानीय मानिसहरु गल्लीमा बगिरहेको बियर पिउँदै त्यसकै नशामा लठ्ठिएको हल्ला चलेको थियो ।

कतिपयले त यतिधेरै रक्सी पिए कि उनीहरुको मृत्यु नै भयो । तर बियरको सो बाढीपछि बस्तीका धेरै मानिसले सडकमा बगेको रक्सी पिएर धेरै दिनसम्म लठ्ठ परेको भन्ने दाबीमा मार्टिन कर्नल सहमत छैनन् । उनका अनुसार समकालीन अखबारहरुमा यस्तो खालका कुनै दाबीका समाचारहरु छैनन् ।
उनी भन्छन्, ‘प्रभावित इलाकाहरुमा आइरिस शरणार्थीहरु ठूलो संख्यामा बस्दथे । उनीहरुलाई लण्डनबासीले मन पराउँदैनथे । यदि त्यस्तो ढंगले रक्सी पिएका हुँदा हुन् त त्यहाँका अखबारले उनीहरुको खिल्ली उडान बाँकी राख्थे होलान् र ?
महँगो व्यवसायिक इलाका
अन्ततः १९औं शताब्दीमा सेन्ट जाइल्स र अन्य कच्च भवनयुक्त बस्तीहरुलाई भत्काएर न्यू अक्सफोर्ड स्ट्रिट बनाइयो । यो आज लण्डनको निकै महँगो व्यवसायिक क्षेत्र बनेको छ । त्यहाँ कुनै ब्रुअरी होइन डोमिनियन थिएटर छन् । साथै एउटा अर्को परिवर्तन पनि आएको छ ।
अमेरिकी लेखक टम क्लेभिनका अनुसार लण्डन बियर फ्लड भनिने उक्त मदिरा बाढी दुर्घटनापछि मदिरा उत्पादन कारखानामा काठले बनेका भिमकाय ट्यांकीमा मदिरा राख्ने प्रचलन हट्यो । त्यसपछि काठका ट्यांकीको साटो कंक्रिटका ट्यांकीमा मदिरा भण्डारण गर्न थालियो । त्यसैले सायद पछिल्लो दुईसय वर्षमा यस्तो कुनै दुर्घटना दोहोरिएको छैन ।
बीबीसीबाट