पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

सिआईबीले अरुण चौधरी लगायतको पक्राउ सम्बन्धमा प्रारम्भि विवरण सार्वजनिक

२०८० माघ १९, शुक्रबार १५:२७ बजे

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शुक्रबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको प्रारम्भिक विवरणमा अरुण चौधरीसहित अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई मुलुकी अपराध संहिता अनुसार ठगीमा अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख गरेको छ । 

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणमा सरकारको निर्णयविना बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएकोमा कानुन विपरीत सञ्चालक समितिले आफूलाई फाइदा र सरकारलाई नोक्सान हुनेगरी १० रोपनी जग्गा हिनामिना गरेको उल्लेख छ।

ब्युरोले तीनैजनालाई बिहीबार पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति पाएको थियो। चौधरी र ठाकुर स्वास्थ्यका कारण देखाउँदै चिरायु अस्पतालमा छन् भने ठाकुर ब्युरोको हिरासतमा छन्।

ब्युरोको प्रेसविज्ञप्तिमा मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७/०७/२० को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम भएको काठमाडौँ जिल्ला साबिक नगर २२ (छ) कि.नं. ५० को १८-३-२-० जग्गा श्री ५ को सरकारको निर्णय बिना सञ्चालक समितिलाई समेत कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानुन विपरीत सञ्चालक समितिले आफूलाई फाइदा र श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले काम गरेको उल्लेख छ।

विज्ञप्तिमा उल्लेख भए अनुसार मिति २०४३/०५/१० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पुँजी ५० लाखको २५% शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा स्रेस्ता कायम रहेको जिल्ला काठमाडौँ साबिक नगर २२ (छ) कि.न. ५० को १८-३-२-० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको उल्लेख छ।

'च्याम्पियन फुटवेयर ली. को जारी पुँजी ५० लाख रहेकोमा सो पुँजीको २५% शेयर लिने गरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेको, सम्झौता बमोजिम १२ लाख पचास हजार लगानी गर्नु पर्नेमा २६,००,२७८/२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याई आफूहरूले आर्थिक लाभ लिएको' विज्ञप्तिमा भनिएको छ।

प्रहरीले यस सम्बन्धमा साबिक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको लागी उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भईरहेको जनाएको छ ।