काठमाडौँ : भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगन्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । भारतीय वायुसेना सी—१३० उडानले ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप ढुवानी गरेको हो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसहरूका लागि चिकित्सा उपकरणहरू समावेश थिए
भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो ।