लघुकथा
चश्मा
- लीलाराज दाहाल
हरि र प्रिया वैवाहिक जीवनको तेस्रो बर्षमा थिए ! दुवै स्नातकोत्तर गरेका जोडी थिए ! उनीहरू बाबु आमाले गराइदिने परम्परागत मागी विवाहको घोर बिरोधी थिए ! प्रिया भन्थी, " अहिलेको जमानामा पनि कसैले बाबुआमाले खोजिदिएको केटासँग विवाह गर्छ ? होइन त कालु ! " पत्नीद्वारा कालु भनिने पति हरिले श्रीमतीको भनाइमा सही थप्यो, " हो त डियर ! आफ्नो जीवन साथी आफैं खोज्ने हो ! हामीले जस्तै ! "
उनीहरु परस्परमा मन पराएर विवाह बन्धनमा बाँधिएका थिए ! उनीहरूको प्रेमको प्रतीक टुकुटुकु हिँड्ने एउटी छोरी थिई ! पहिलो गाँसमै ढुङ्गा भने जस्तै छोरी प्रायः जसो बिरामी हुन्थी ! त्यसैले उनीहरुको अस्पताल - आवास दौड चलिरहन्थ्यो ! कहिले कुन बिमार, कहिले कुन ! सधैं जसो अस्पताल गैरहनु पर्थ्यो !
निकै दिन सकुशल रहेकी छोरी फेरि बिरामी परेपछि हरि एकछिन सोचमग्न भयो ! उसले केही सोच्न सकिरहेको थिएन ! छोरीलाई कुन अस्पताल लैजाने भनेर दोधारमा परेको पतिलाई कोट्याएर प्रियाले भनी, " कालु ! पल्लो टोलमा एकजना धामी बा बस्छन् रे ! त्यहाँ फुक्न लैजाउँ न छोरीलाई !
एकछिनका लागि उनीहरुले चेतना र भौतिक ज्ञान बिर्सिए ! अनि अन्धविश्वासको चश्मा लगाएर छिटो छिटो धामी बस्ने गल्लीतिर लम्किए !
लघुकथा
खुसी
- लीलाराज दाहाल
रिताले धेरै दिनदेखि केही लेख्ने प्रयास गरिरहेकी थिइन् तर लेख्न सकिरहेकी थिइनन् ! उनलाई साहित्यकार हुन रहर लागेको थियो ! उनका छोराछोरी हुर्किसकेका थिए ! उनका पति कुनै सरकारी कार्यालयको ठूलै हाकिम थिए ! पुर्ख्यौली धन पनि निकै थियो ! त्यो भन्दा बढी उनका हाकिम पतिले कमाएका थिए ! त्यसैले उनलाई नपुग्दो केही थिएन !
उनका केही साथीहरू कवि, लेखक थिए ! प्रसिद्धि कमाइरहेका थिए ! जताततै चिनिएका थिए ! रिताको यत्रोविधि सम्पत्ति भएर पनि उनलाई कसैले चिन्दैनथे ! उनलाई पर्नु पीर परेको थियो ! जताततै चिनिन मन थियो ! फिल्म क्षेत्रमा लाग्न रुपले साथ दिएन ! गायनमा लाग्न पनि गलाले साथ दिएन ! उनलाई जसरी पनि चर्चित हुन रहर लागेको थियो ! चर्चित हुने सबैभन्दा सजिलो बाटो उनलाई साहित्य नै लाग्यो ! तर ठ्याम्मै केही पनि लेख्न सकेकी थिइनन् ! उनलेे के लेख्ने र कसरी लेख्ने भन्ने भेउ पाउन पनि सकेकी थिइनन् !
धेरैदिन भैसक्यो, उनलेे केही लेख्नै सकिनन् ! उनका साथी लेखकहरु पुरस्कार पाएको फोटो फेसबुकमा हाल्थे ! नयाँ किताब विमोचन गरेको फोटो फेसबुकमा हाल्थे ! यो देखेर उनको मन चसक्क हुन्थ्यो ! उनी चिन्ताले ग्रस्त थिइन् ! उनलाई खाना पनि रुच्न छोडेको थियो ! उनको अवस्थाले उनका पतिलाई पनि चिन्तित बनायो !
साहित्यको किताब निकाल्न मन लागेको कुरा उनलेे पतिलाई भनिन् ! उनका पतिले आश्चार्य प्रकट गर्दै भने, " किताब निकाल्न त पहिले लेख्नु परो नि डियर ! "
" अचेल किताब निकाल्न लेख्नै पर्दैन नि बुढा ! पैसा भएपछि लेखाउन पाइहालिन्छ नि ! " उनले युद्ध जितेको सिपाही झैं प्रफुल्ल हुँदै भनिन् ! "
" ठीक छ त उसो भए ! " उनको योजनामा उनका पति पनि सहमत भए !
" धन्यवाद प्यारो बुढा ! मेरो नाउँमा उपन्यास लेखिदिनु भनेर म आजै भूत लेखकलाई दुई लाखको चेक दिन्छु! " रिताको अनुहार खुसीले धपक्क बल्यो!
वागमती ११, कर्मैया, सर्लाही