पाठशाला न्यूज
 २०८० मंसिर १६, शनिबार    

'ब्रा' मा लगाउने सानो उपकरणको आविष्कार जस्ले पत्ता लगाउनसक्छ स्तन क्यान्सर

२०८० कार्तिक ४, शनिबार १२:२९ बजे

एजेन्सी- संसार मै सबैभन्दा बढी स्तन क्यान्सरको समस्या रहेको कुरालाई मध्यनजर गर्दै टर्कीकी वैज्ञानिक जानान दादेविरेनले म्यासाचुसेट्स इन्ष्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी)को मिडिया ल्याबमा आफ्नो टिमसँग मिलेर अल्ट्रासाउन्डयुक्त एउटा सानो उपकरणको विकास गरेकिछिन् जस्को सहयोगले घरमै बसेर चिया पिइरहेको वा घरमा कुनै काम गरिरहेको समयमा पनि स्तनमा ट्युमर पत्ता लगाउन सक्छ । यो सानो उपकरणलाई ब्रा माथि लगाउन मिल्छ। 

विश्वभर सबैभन्दा धेरै भेटिने क्यान्सर हो स्तन क्यान्सर । सन् २०२० मा विश्वभर २३ लाख महिलामा स्तन क्यान्सरको पुस्टी भएको थियो । उक्त वर्ष यही क्यान्सरका कारण ६ लाख ८५ हजार जनाको मृत्यु भयो । महिलाहरूमा मृत्युको दोस्रो ठुलो कारण पनि स्तन क्यान्सर नै हो । यहि समस्यालाई मध्यनजर गर्दै यो उपकरणले शुरुआती चरणमै स्तन क्यान्सर पत्ता लगाएर समयमै उपचारमा सघाउने अनि बिरामीहरूको जीवित रहने दर बढाउन मद्दत मिल्ने आशा पलाएको छ । 

यो उपकरण उनले स्तन क्यान्सरबाट मृत्यु भएकी आफ्नी काकीको सम्झनामा बनाएकी हुन् । स्तन क्यान्सर हुने खतरा उच्च भएका महिलाहरूलाई डाक्टरहरूले नियमित रूपमा मेमोग्राम गर्ने सल्लाह दिन्छन् ।

ती महिलाहरुको लागि यो उपकरण उपयोगी हुन सक्छ । यस्ता महिलाहरूले दुई वटा मेमोग्राम बीचको समयमा पनि यो उपकरणको साहाराले स्तन क्यान्सरलाई मनिटर गर्न सक्छन् । यो उपकरण लगाउन अल्ट्रासाउन्ड जेल पनि चाहिँदैन । यसले शून्य दशमलव ३ सेमी आकारको सानो गाँठो पनि पत्ता लगाउन सक्छ । उपकरण स्तन क्यान्सरको जोखिम उच्च भएका महिलाहरूलाई उपयोगी हुन सक्ने बताइएको छ ।

यसले मेमाग्राम वा सेल्फ एक्जामिनेशनको बीचमा पनि स्तनमा उत्पन्न हुन सक्ने गाँठागुठी पत्ता लगाउन मद्दत गर्छ । उपकरणले स्तनमा केही असमान्यता देखाएको छ भने चाहिँ मेमोग्राफ गराउनु पर्ने सोधकर्ताहरू बताउँछन् । हाल यो उपकरणको मूल्य हजार डलर अर्थात् आजको विनिमय दरअनुसार १ लाख ३३ हजार रहेको छ । यो उपकरणको मास प्रोडक्शन सुरु भएपछि भने मूल्य घट्नेछ । यसका लागि कम्तीमा पनि चार पाँच वर्ष लाग्न सक्छ बताइएको छ ।