पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

तरकारी तथा फलफूलमा तीन महिनामा १३ अर्ब ४९ करोडको घाटा

२०८० कार्तिक ३०, बिहीवार १२:५१ बजे

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा १३ अर्ब बढीको तरकारी तथा फलफूलमा व्यापार घाटा देखिएको छ । भन्सार विभागका अनुसार तरकारी तथा फलफूलमा १३ अर्ब ४९ करोड ३२ लाख ७७ हजार रुपैया व्यापार घाटा देखिएको हो ।
फलफूल तथा तरकारी आयात गर्दा ४० करोड १० लाख ७१ हजार रुपैयाको मात्रै ती वस्तु निर्यात भएको छ ।
फलफूल तथा तरकारीको अन्तर्राष्ट्रिय कारोबारबाट सरकारले ३ अर्ब ५ करोड ८८ लाख २० हजार राजस्व संकलन गरेको छ । तरकारी र फलफूल भारत, चीन, जापान, थाइल्याण्ड, इटाली, न्यूजील्याण्डलगायत मुलुकबाट आयात गरिन्छ भने भारत, चीन लगायत मुलुकमा निर्यात हुन्छ ।
विभागका अनुसार तीन महिनामा ८ अर्ब रुपैयाको तरकारी र ५ अर्ब रुपैयाको फलफूल आयात गरिएको हो । भारत, चीन, जापान, थाइल्याण्ड, इटालीलगायत मुलुकबाट सो तरकारी र फलफूल आयात गरिएको विभागले जनाएको छ ।ती मुलुकबाट आलु, प्याज, स्याउ, किवी, अंगुरलगायत तरकारी र फलफूल आयात गरिएको हो । ।
साउन, भदौ र असोज महिनामा८ अर्ब ३२ करोड ७४ लाख ६३ हजार रुपैयाको तरकारी आयात गरिएको छ भने सो समयावधिमा ३९ करोड रुपैया बराबरको तरकारी निर्यात पनि गरिएको छ ।
यसरी तरकारीमा ७ अर्ब ९३ करोड ५ लाख ६८ हजार रुपैया व्यापार घाटा देखिएको छ । यो तीन महिनामा सरकारले तरकारीको कारोबारबाट १ अर्ब ४५ करोड ६३ लाख ९४ हजार रुपैया राजस्व संकलन गरेको छ ।
यस्तै, तीन महिनामा ५ अर्ब ५६ करोड ६८ लाख ८६ हजार रुपैयाको फलफूल आयात भएको छ । विभागका अनुसार ४१ लाख ७७ हजार रुपैयाको फलफूल निर्यात गरिएको छ । फलफूलमा ५ अर्ब ५६ करोड २७ लाख ९ हजार रुपैया व्यापार घाटा भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
फलफूल कारोबार बापत सरकारले १ अर्ब ६० करोड २४ लाख २६ हजार रुपैयाको राजस्व संकलन गरेको छ । भारत, चीन, थाइल्याण्ड, न्यूजील्याण्डलगायत मुलुकबाट फलफूल आयात गरिन्छ ।
चालु आर्थिक वर्षको तीन महिनाको तरकारी र फलफूलको कारोबार रकमको विवरण गत २०७९/८० कोतीन महिनामा तरकारी र फलफूलमा १३ अर्ब ४४ करोड १८ लाख ६५ हजार रुपैया व्यापार घाटा थियो । विभिन्न मुलुकबाट १३ अर्ब ६३ करोड ५९ लाख ८६ हजार रुपैयाको फलफूल तथा तरकारी आयात भएको थियो भने १९ करोड ४१ लाख २१ हजार रुपैयाको तरकारी र फलफूल निर्यात भएको थियो । सरकारले गत वर्ष फलफूल र तरकारीको अन्तर्राष्ट्रिय करोबारबाट गत वर्ष तीन महिनामा २ अर्ब ४९ करोड ५४ लाख १३ हजार रुपैया राजस्व संकलन गरेको थियो ।
गत वर्ष ५१ अर्बको व्यापार घाटा
गत २०७९/८० मा तरकारी फलफूलमा ५१ अर्ब ६२ करोड रुपैया व्यापार घाटा भएको भएको थियो । तरकारी र फलफूल ५२ अर्ब ४३ करोड रुपैया बढीको आयात भएको थियो । ८ करोड १९ लाख रुपैयाको मात्रै तरकारी र फलफूल निर्यात भएको थियो । सो वर्षभरमा तरकारी र फलफूलको कारोबारबाट सरकारले ८ अर्ब ७२ करोड रुपैया राजस्व संकलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष ३१ अर्ब ८७ करोड रुपैयाको तरकारी आयात भएकोमा ७४ करोड रुपैयाको मात्रै निर्यात भएको थियो । यो वर्षमा ३१ अर्ब रुपैया तरकारीमा व्यापार घाटा भएको थियो भने सरकारले ३ अर्ब ५६ करोड रुपैया राजस्व संकलन गरेको थियो ।
गत वर्ष २० अर्ब ५६ करोड रुपैयाको फलफूल आयात भएको थियो भने ६ करोड ४९ लाख रुपैयाको फलफूल निर्यात भएको थियो । त्यस्तै, २० अर्ब ४९ करोड रुपैयाको व्यापार घाटा भएको थियो भने ५ अर्ब १६ करोड रुपैया राजस्व संकलन गरेको थियो ।