पाठशाला न्यूज
 २०८२ वैशाख १२, शुक्रवार    

फुङलिङ नगरपालिकाका वरिष्ट प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लियो

२०८१ आषाढ १८, मङ्गलवार ००:४२ बजे

ताप्लेजुङ- फुङलिङ नगरपालिकाका वरिष्ट प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। 

सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ। फुङलिङ नगरपालिका–२ तारीबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट हुसेनले अतिरिक्त रकम लिएको निर्माण व्यवसायीको दावी छ।

फुङलिङ नगरपालिका–२ का वीरबहादुर तामाङले आफूले ठेक्कामार्फत काम गरेको र प्राविधिकले लगातार पैसा मागेपछि अख्तियारमा खबर गरेको बताएका छन्।

काम गरेवापतको ६ लाख ६४ हजार ५४१ रुपैयाँ भुक्तानी लिएको र भुक्तानीको चेक लिनुअघिदेखि नै हुसेनले महालेखापरीक्षकको टोलीलाई दिनुपर्छ भनेर २० प्रतिशत रकम मागेको तामाङले बताए। 

आफूले पैसा दिन नसकिने भनेपछि पटकपटक फोन गरेर २० बाट घटेर १५ प्रतिशत मागेको उनको भनाइ छ।

त्यसपछि अख्तियारको कार्यालयमा खबर गरेर अख्तियारको टोली आएपछि हुसेनको निवासमा गएर उनले मागेको १५ प्रतिशत रकम दिएको तामाङले बताए।