पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

‘महाजात्रा’को टिजर सार्वजनिक : पैसाको वरपर घुमेको सत्ता, शक्ति र महत्वाकांक्षाको कथा

२०८० फाल्गुन ८, मंगलबार १७:३५ बजे

काठमाडौं : सोसल–कमेडी फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । एक मिनेट भन्दा लामो टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ ।
टिजरले ‘जात्रैजात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो श्रृंखलाको कथावस्तुतर्फ डो¥याउँछ । अभिनेता राजाराम पौडेलको पात्रले एक गाडी पैसा लुकाउन र त्यसबापत तीन प्रमुख पात्रलाई ३०–३० लाख रुपैयाँ दिने वचन दिन्छन् । उनको आग्रहअनुसार नै पैसा लुकाउँदा उत्पन्न परिस्थितिसँग पात्रले संघर्ष गर्नुपर्छ ।
संघर्ष बढ्दै जाँदाको घटनाक्रमअनुसार नयाँ–नयाँ पात्र कथावस्तुसँग जोडिन्छन् । फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । यी तीन पात्रलाई पैसा लुकाउने परिस्थितिले पुनः एक ठाउँमा ल्याउँछ र कथासँगै उनीहरुले हण्डर खानुपर्छ ।
फिल्ममा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । प्रवीण खतिवडा, वर्षा राउत, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको समेत फिल्ममा अभिनय छ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् । रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता हुन् । यो फिल्म चैत ९ गते रिलिज तयारीमा छ ।