पाठशाला न्यूज
 २०८१ आषाढ २१, शुक्रवार    

संघीय संसद्का दुवै सदनको बैठक आज

२०८१ जेष्ठ २०, आइतवार ०७:५१ बजे

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आइतबार छुट्टाछुट्टै बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने दुवै सदनको बैठकका निम्ति सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आ.व. २०८१\०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि आर्थिक वर्ष २०८१\०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री पुनले ‘आर्थिक वर्ष २०८१\०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि आर्थिक वर्ष २०८१\०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
आइतबार राष्ट्रियसभा बैठकका निम्ति अरू पनि सम्भावित कार्यसूची तय गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गरेका थिए ।