काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । मंगलबार बोलाइएको बैठक बुधबारका लागि सारिएको हो ।
सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायत विषयमा छलफल हुनेछ । विशेषगरी असार १७ गते राति नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको समझदारीबारे बैठकमा छलफल हुनेछ ।
यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने गौतमले बताए । यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत जिल्ला र जनसंगठन इन्चार्ज परिवर्तन हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।
एमालेले यसअघि नै संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो । अभियानबारे पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ ।