पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

२०८० भाद्र ३०, शनिवार १८:४९ बजे

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् ।
उनी शनिबार साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्युयोर्कतर्फ गएका हुन्।१८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ ।
प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन् ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेका हुन् ।