काठमाडौं–काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार अहिले उनीहरूको परिचय गोप्य राखिएको छ । शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।
नवीनलाई भाइ बताउने २८ वर्षीय दिपेन्द्र राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो । मृतकको टाउको,घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार भएको देखिएको छ ।
हत्यामा प्रयोग भएको हतियार प्रहरीले खोजिरहेको छ ।
प्रहरी कार्यालयमा दिपेन्द्रलाई सोधपुछ भइरहँदा अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो । त्यसपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो । कुकुर जडिबुटीसम्म पुगेको थियो ।
सोही आधारमा प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको स्रोतले बतायो ।
आफैं प्रहरी कार्यालय पुगेका विपेनको घटनामा संलग्नता छ कि छैन भन्ने कोणबाट पनि अनुसन्धान सुरू भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए ।
एसएसपी मैनालीका अनुसार सःमिलमा हत्या भएका नवीनलाई उनी भाइ भन्थे। आफ्ना बाबु पहिले सोही सःमिलमा काम गर्ने भएकाले नवीन बेलबेला त्यहाँ गइरहन्थे । आउजाउ भइरहने भएकाले कुमार भुजेलको परिवारसँग नवीनको सम्बन्ध राम्रै थियो । प्रहरीले नवीनको पृष्ठभूमीबारे पनि अनुसन्धान थालेको छ ।
घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । घटना भएको सःमिल दोलखाका एमाले नेता बालकृष्ण सिवाकोटीको हो। घटनाको अनुसन्धान काठमाडौं जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको छ ।