एजेन्सी – केलियन एमबाप्पेको २ गोल गरेको स्पेनिस ला लिगाको खेलमा रियल मड्रिडले सहज जित हासिल गरेको छ ।
रियलले आइतवार १० खेलाडीमा सिमित लास पाल्मासलाई ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेसँगै ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे।
पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना बन्यो। खेलमा सुरुवाती अग्रता भने पाल्मासले लिएको थियो । सिल्भाले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल अग्रता दिलाए । एमबाप्पेले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ३३औं मिनेटमा डियाजले गोल गरेपछि रियलले अग्रता लियो । त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे ।
जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । ३९ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ । २२ अंकसहित पाल्मस १४ औं स्थानमा छ।