पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

एमालेको मधेस प्रदेश अधिवेशन सकिएको घोषणा, कानुन बिपरित बहालवाला शिक्षक निधि प्रदेश कमिटी सदस्य पदमा निर्वाचित

२०८० आश्विन २८, आइतवार ००:२४ बजे

जनकपुरधाम- नेकपा एमालेको मधेस प्रदेश अधिवेशन सकिएको छ। निर्वाचन कमिटीले पाँच जना पदाधिकारीहरू सहित २३५ सदस्यिय प्रदेश कमिटीको निर्वाचित परिणामको घोषणा गरेको छ ।

जसमा देशको कानुन बिपरित बहालवाला शिक्षक पनि निर्वाचित भएको घोषणा गरिएको छ । 

अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सहित पाँच पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन्। मण्डल सिराहाको पार्टी जिल्ला अध्यक्ष थिए। 

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) चयन हुनुभएको छ ।

आठ जिल्लाबाट केहि सदस्य पदमा सहमति जुटे पनि अधिकांश निर्वाचित सदस्यहरू भने अधिवेशनमा हावि पार्टी हाइकमाण्डको नजिकका प्रतिनिधि पात्रहरु रहेका छन् जसलाई घना विवादका बिच सहमति बिना निर्वाचित गरिएको छ । 

प्रतिनिधि उमेदवारहरुको सहमति बिना शिर्ष नेताहरुले आफूहरु निकट व्यक्तिलाई अधिवेशनको निर्णय ढिलो गरि प्रतिनिधिहरुलाई अन्योलमा राखेर लगभग सबैजसो घर फर्किए पछि मनलाग्दी निर्णय गरेर निर्वाचित सदस्यहरूको नामावली प्रकाशन गरेकाछन्। निर्वाचन कमिटीमा दर्ता भएका उजुरी बिरुद्ध कुनै सुनवाई नगरी यस्तो निर्णय गरिएको हो । 

सदस्यहरुको चयनको हकमा मनलाग्दी निर्णय गरेर अधिवेशन समाप्तिको घोषणा गरिएको छ । 

यसै बिच विवाद र उजुरीहरुको बाबजुद छद्म नामको प्रयोग गरि एक बहालवाला शिक्षकलाई पनि प्रदेश कमिटी सदस्यमा निर्वाचित गरिएको छ । 

एमएस निधिको छद्म नामबाट सदस्यता नम्बर १४९८ का बहालवाला शिक्षक मनि शंकर निधि प्रदेश सदस्यमा निर्वाचित भएका हुन्। 

रौतहट राजपुर नगरपालिका स्थित सरस्वती सदन आधारभुत विद्यालयमा कार्यरत शिक्षक मनि शंकर निधी (प्रा.वि. द्वितीय) ले जनकपुरधाममा जारी मधेस प्रदेश अधिवेशनमा मधेस प्रदेश सदस्य खुल्ला तर्फबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए। 

प्रस्तावक रुपेश पटेल र समर्थक सन्तोष कुमार साहको समर्थनमा एम.एस निधीको नामले आफ्नो उमेदवारी दर्ता गरेका शिक्षक मणिशंकर निधीले नेकपा एमालेबाट बि.सं. २०४७/९/२३ मा पार्टी सदस्यता लिएका थिए। 

सदस्यता नं. १०४९८ नम्बरको पार्टी सदस्य कायम रहेका बहालवाला शिक्षक निधी यस अघि नेकपा एमालेकाे मधेस प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका थिए। 

निजले नेकपा एमालेको गत दशौं राष्ट्रिय महाधिवेसनमा रौतहट जिल्लाबाट यहि सदस्यता नम्बरमा प्रतिनिधि छनौट भई मतदान प्रक्रियामा भाग लिएका थिए। 

नेकपा एमालेको केन्द्रिय कार्यालयको रेकर्डमा १०४९८ नम्बरको सदस्यता निज एमएस निधि भनिएको छद्म नाममा नभएर स्पष्टसँग फोटो सहित मनि शंकर निधि उल्लेख भएको पाइएको छ । 

बहालवाला शिक्षकले कुनै पनि राजनैतिक दलको सदस्य हुनु गैर कानुनी भएतापनि शिक्षक निधिले देशको कानुन उल्लङ्घन गरि सदस्यता जारी राखेर सक्रिय राजनीति गरि मधेस प्रदेश कमिटीको अधिवेशनमा भाग लिइ प्रदेश कमिटी सदस्यको पदमा निर्वाचित भएका छन्। 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था हुँदाहुँदै पनि निज शिक्षक देशको कानुन बिपरित राजनीतिक दलको सदस्यता नत्यागी लामो समय देखि राजनितिमा सक्रिय हुँदै हाल आएर मधेस प्रदेश कमिटीको सदस्य पदमा निर्वाचित भएका छन्। 

निर्वाचित नामावलीमा एमएस निधि (बुँदा नं.७० को क्र.सं ५)