पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

अजय देवगनको ‘शैतान’ले कमायो तीन दिनमा ५५ करोड

२०८० फाल्गुन २९, मंगलबार १४:२८ बजे

काठमाडौं : अजय देवगण र माधवन अभिनित बलिउड फिल्म ‘शैतान’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । फिल्मले प्रदर्शनको तीन दिन (शुक्रबार, शनिबार र आइतबार)मा भारतभर ५५.१३ करोड भारु कमाएको छ ।
यो फिल्म हरर विधाको पहिलो भारतीय फिल्म भएको जनाइएको छ । विकास बहल निर्देशित फिल्म हेर्न आइतबारसम्म भीड लाग्यो । बेलुका पनि अकुपेन्सी ५० प्रतिशत रह्यो ।
बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले शुक्रबार १५.२१ करोड भारुको ओपनिङ गरेको थियो । शनिबार १९.१८ करोड भारु र आइतबार २०.७४ करोड भारु कलेक्सन गरेको छ ।
ठूला सहरका मल्टिप्लेक्सदेखि साना सहरका सिंगल स्क्रिनमा समेत फिल्मले राम्रो कमाइ गरेको जनाइएको छ । आम दर्शकले फिल्मलाई रुचाएको विश्लेषक आदर्शले जनाएका छन् ।

दिल्ली–एनसीआर, मुम्बई र बेंगलुरुमा फिल्मको कमाइ उच्च छ । पश्चिम बंगाल र ओडिशामा पनि कलेक्सन राम्रो छ । पूर्वी पञ्जाबमा पनि ‘शैतान’ले दर्शकको राम्रो साथ पाइरहेको छ ।

‘शैतान’को बजेट ६०–६५ करोड भारु छ । यसको अर्थ यो फिल्मले पहिलो सोमबार नै लगानी उठाउनेछ । सोमबारदेखि बिहीबारसम्म फिल्मको कमाइको गतिमा खासै कमी नआउने देखिएको छ । किनकि आगामी बिहीबारसम्म बक्स अफिसमा यो फिल्मको खास प्रतिस्पर्धी छैन ।
तर सिद्धार्थ मल्होत्राको ‘योद्धा’ र अदा खानको ‘बस्तर : द नक्सल स्टोरी’ आगामी शुक्रबार अर्थात् मार्च १५ रिलिज भएसँगै ‘शैतान’सामु चुनौती थपिनेछ ।

‘शैतान’मा ज्योतिका, जानकी बडीवाला र अंगद राजको अभिनय छ । अजयले कबीर शेट्टी र माधवनले वनराज कश्यपको भूमिका निर्वाह गरेका छन् ।
यो फिल्मले कवीरको परिवारको कथा पेश गर्छ । कवीरको परिवार छुट्टी मनाउन फार्महाउस पुगेको हुन्छ । अपरिचित वनराज तिनीहरूको घर पुग्छ । ऊ केही मिनेटको लागि पुगेको हो तर घर छोड्न अस्वीकार गर्छ । वनराजले कबीरकी छोरीलाई आफ्नो नियन्त्रणमा लिएर परिवारविरुद्ध हतियार बनाउँछ । यो रोचकतासँगै कथा अघि बढ्छ ।