पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को टिजर : प्रेम, शक्ति र स्वतन्त्रताको कथा

२०८० माघ १८, बिहीवार १३:३८ बजे

काठमाडौं : सञ्जयलीला भन्सालीको पहिलो वेब सिरिज ‘हीरामण्डी’को टिजर भिडियो सार्वजनिक भएको छ । नेटफ्लिक्स सिरिजको यो फस्टलुक आकर्षक र सशक्त देखिन्छ ।
यो कथा त्यो जमानाको हो, जब यौनकर्मी पनि रानीजस्तै जीवन बिताउँथे । उनले शासन त गर्थे तर सजिलो भने थिएन । प्रेम, शक्ति र स्वतन्त्रताको कथा यसमा देख्न सकिन्छ । सिरिजमा सोनाक्षी सिन्हादेखि मनिषा कोइराला र अदिति राव हैदरीसम्म सबैले दमदार भूमिका निर्वाह गरेका छन् ।
हीरामण्डीको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । बिहीबार रिलिज गरिएको टिजरमा भव्य सेटदेखि रानीजस्तै जीवन बिताउने यौनकर्मीको जीवनलाई विस्तृत रूपमा देखाइएको छ । भिडियोमा रानीले जस्तै शासन गर्न र आफ्नो शक्ति कायम राख्न यौनकर्मीको संघर्ष देखाइएको छ ।

‘हीरामण्डी’को फस्टलुक हेरेपछि फ्यान खुसी भएका छन् । भन्सालीले फेरि आफ्नो जादू चलाउने फ्यानको भनाइ छ । ‘हम दिल दे चुके सनम’ र ‘देवदास’जस्ता ब्लकबस्टर फिल्म दिएका भन्साली आफ्नो भव्यताका लागि परिचित छन् । उनका फिल्ममा ठूला सेट र भव्य डिजाइन देखिन्छन् । उनको पछिल्लो फिल्म ‘गंगुबाइ काठियावाडी’ हिट भएको थियो ।
लामो समयदेखि चर्चामा रहेको ‘हीरामण्डी’ समयमै रिलिज हुन सकेको छैन । निर्माताले यो शो यस वर्ष नेटफ्लिक्समा स्ट्रिम हुने जानकारी दिएका छन् । यसपटक ‘हीरामण्डी’ शीर्षकमा ‘द डायमण्ड बजार’ पनि थपिएको छ ।