पाठशाला न्यूज
 २०८० चैत्र १६, शुक्रबार    

रौतहटमा बागी उम्मेदवार मनाउन सत्ता गठबन्धन असफल

२०७९ कार्तिक ९, बुधबार १५:५६ बजे

रौतहट–रौतहटको विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दलकै एक भन्दा बढी उम्मेदवार छन् ।
सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गर्दा एउटा दलले पाएको निर्वाचन क्षेत्रमा अर्को दलले पनि उम्मेदवारी दिएपछि त्यस्ता उम्मेदवारलाई फिर्ता गराउन दलहरुले प्रयास गरिरहेका छन् । तर गठबन्धनभित्रैका बागी उम्मेदवारलाई मनाउने प्रयास असफल भएको नेताहरुले बताएका छन् ।
सत्ता गठबन्धनमा भएको सिट बाँडफाँट अनुसार रौतहट–२ (१) मा कांग्रेसका नागेन्द्र सिन्हा आधिकारिक उम्मेदवार हुन् । तर लोकतान्त्रिक समाजवादी पार्टीका शेख जमसैदले पनि उम्मेदवारी दिएका छन् ।
रौतहट–२ (२) मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार नेकपा एकीकृत समाजवादीका कनिष्ठ पटेल हुन् । तर नेकपा माओवादी केन्द्रका अशोक जैसवालले पनि उम्मेदवारी दिएका छन् ।
रौतहट ४ (१) मा माओवादी केन्द्रका समीर भट्टराईले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । तर एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । रौतहट १ (१)मा सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका नागेन्द्र साह कलवार हुन् । तर लोसपा त्यागेर बाबुलाल साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रौतहट १ (२) मा पनि सत्ता गठबन्धनको समर्थन कांग्रेसका कृष्ण यादवलाई छ । तर कांग्रेसका पूर्व जिल्ला सचिव राकेशकुमार चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रौतहट ३ मा एमालेको टिकट छाडेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनले साहलाई सघाउने भनिएपनि माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवारी फिर्ता नलिने अडानमा छन् । नेपाली कांग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले कुनै पनि बागीले उम्मेदवारी फिर्ता लिन नमानेको बताए । ‘एउटाले म आधिकारिक हुँ भन्छ, अर्कोले म आधिकारिक हुँ भन्छ, फिर्ता गराउन कठिन भएको छ’ उनले भने ।