पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

चन्द्रपुरमा कक्षा ८ को परिक्षाफलमा शैक्षिक माफिया र निरिक्षक मण्डलको चलखेल

२०८१ बैशाख १४, शुक्रबार १६:५२ बजे

प्रिमेश शिवाकोटी 

रौतहट- बिहिवार राति अबेर चन्द्रपुर नगरपालिकाले समाजिक सञ्जालमा गत शैक्षिक सत्र अन्तर्गतको कक्षा ८ को परिक्षाफल प्रकाशित गरेको छ। 

सामुदायिक र निजि बिद्यालयका कुल एक हजार पाँच सय तिन परिक्षार्थी मध्ये एक हजार एक सय त्रिपन्न परिक्षार्थी उत्तीर्ण र तिन सय पचास अनुत्तीर्ण भएका छन्। 

चालु शैक्षिक सत्रमा भर्ना सकिएर अन्य कक्षा नियमित रुपमा सञ्चालन भइरहदा पनि कक्षा ८ को परिक्षाफल प्रकाशित नहुँदा मारमा परेका परिक्षार्थीहरुको लागि गत राति अबेर नगरपालिकाले परिक्षाफल प्रकाशित गरेको हो । 

नगरपालिकाले यस पटक परिक्षाफल प्रकाशित गर्न निकै ढिलाई गरेको थियो। ढिलो परिक्षाफल प्रकाशित हुनुमा चन्द्रपुर नगरपालिका भित्र शिक्षामा भएको यस पटकको व्यापक भ्रष्टाचारको लागि आर्थिक चलखेल प्रमुख कारणहरु मध्ये एक हुन आएको छ। 

चन्द्रपुर नगरपालिका अन्य क्षेत्रहरूमा चरम भ्रष्टाचारमा चुर्लुम्म डुबेको बेला यसपटक शिक्षा जस्तो बिषयमा समेत आर्थिक चलखेल भई संगठित भ्रष्टाचार भएको स्पष्ट देखिएको छ । 

स्रोतका अनुसार परिक्षाफल ढिलो प्रकाशन हुनुमा व्यापक रुपमा अनुतिर्ण भएका बिद्यार्थीहरुलाई उतिर्ण गर्न नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलको अगुवाईमा संगठित रुपमा आर्थिक चलखेल गरि शिक्षा मन्त्रालयबाट जारी भएको बिद्यार्थी मुल्याङ्कन निर्देशिका विपरीत फेल भएका अधिकांश बिद्यार्थीहरुलाई पास गर्न निजि बिद्यालयसँग परिक्षाफल प्रकाशित हुनु अगावै परिक्षाफलको नतिजा गोप्य रुपमा देखाई बिद्यार्थी उत्तिर्ण गराउन मोलमोलाई गरि अनुचित आर्थिक लाभ लिँदा समय लागेको कुरा खुल्न आएको छ। 

निल गएका बिद्यालयहरुको बिद्यार्थीहरुलाई कसरी पास गराइयो ?

नगरपालिका भित्रका करिब १० वटा सामुदायिक विद्यालयका सम्पुर्ण बिद्यार्थीहरु अनुत्तीर्ण भएका थिए। 

श्री महेन्द्र मा.वि रैया टोल, श्री नि.मा.वि असनवा, श्री आधारभुत बिद्यालय मोथियाहि लगायतका करिब १० ओटा सामुदायिक बिद्यालयका सम्पुर्ण बिद्यार्थीहरु फेल भए पछि उक्त गोप्य नतिजाको जानकारी दिन प्रत्येक विद्यालयका प्रधानाध्यापकसँग नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले छुट्टा छुट्टै शंकास्पद भेटवार्ता गरि बिद्यालयको नतिजा देखाई आर्थिक मोलमोलाई गरेका थिए भन्ने कुरा निल बिद्यालयको नतिजा ५० देखि ८० प्रतिशत सम्म उतिर्ण हुनु स्वयं तथ्यले पुष्टि गरेको छ। 

बिद्यार्थी मुल्याङ्कन निर्देशिका बिपरित कार्य

शिक्षा मन्त्रालयको बिद्यार्थी मुल्याङ्कन निर्देशिका अनुसार तिन ओटा बिषय भन्दा माथि अनुत्तीर्ण रहेका बिद्यार्थीहरु र ३५% भन्दा मुनि प्राप्ताङ्क भएका बिद्यार्थीहरु नन ग्रेडिङ्गमा पर्छन् अर्थात अनुतिर्ण मानिन्छन्। तर पाँच वटा बिषय लागेका अधिकांश बिद्यार्थीहरुलाई आर्थिक चलखेल, राजनैतिक दबाब र शिक्षा समिति समेतको आपसी मिलेमतोमा उतिर्ण गराइ गैर कानुनी काम गरिएकाे छ । 

निजि बिद्यालयका अधिकांश विद्यार्थीहरुलाई कसरी उतिर्ण गराइयो?

उत्तर पुस्तिका परिक्षण पश्चात अधिकांश निजि बिद्यालयका बिद्यार्थीहरु अनुतिर्ण भए पछि नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले निजि बिद्यालयका सञ्चालकहरुलाई छुट्टाछुट्टै बोलाएर छुट्टाछुट्टै गोप्य भेटवार्ता गरे । समयमा प्रकाशित हुनुपर्ने परिक्षाफललाई अनिर्णयको बन्दि बनाएर आर्थिक चलखेल सुरु गरे । कुरा मिले पछि निजि बिद्यालयका अधिकांश विद्यार्थीहरुलाई उत्तिर्ण गराइ नतिजा प्रकाशित गरे। 

उत्तर पुस्तिकाको र आईइएमआईएस प्रणालीमा दाखिला गरिएको प्राप्ताङ्कमा फरक किन गरियो? 

करिब दस वटा सामुदायिक विद्यालयका र अधिकांश निजि बिद्यालयका अनुतिर्ण बिद्यार्थीहरुको उत्तर पुस्तिकामा एक थरि प्राप्ताङ्क छ । तिन वटा भन्दा बढी अधिकांश पाँच वटा बिषयमा बिद्यार्थीहरु अनुत्तीर्ण छन्। उत्तर पुस्तिकामा अनुत्तीर्ण प्राप्ताङ्क हुँदा हुँदै तिनिहरुलाई उत्तिर्ण गर्न बिद्यालय स्तर एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली (आईइएमआईएस) मा नगर शिक्षा समितिसँगको मिलेमतोमा नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलको निर्देशनमा मनलाग्दी प्राप्ताङ्क दाखिला गरिएको छ, जुन गैर कानुनी हो ।

यसरी उत्तर पुस्तिकामा अनुत्तीर्ण भएका बिद्यार्थीहरुको प्राप्ताङ्कलाई अनुचित आर्थिक लाभको नियत राखि मनलाग्दी उतिर्ण प्राप्ताङ्क दाखिला गरिएको बिषय अत्यन्तै गम्भिर हुँदाहुँदै पनि नगर प्रमुख मौन रहनु रहस्यमय छ । यो संगठित नितिगत भ्रष्टाचारको मण्डली भित्र रहेकाहरुले नगरको शिक्षा क्षेत्र माथि गम्भिर लापरवाही गरेको स्पष्ट देखिन आएको छ । 

१६ जना मात्र उतिर्ण रहेका श्री मा.वि जुडिबेलाको बिद्यार्थी उतिर्ण सङ्ख्या कसरी ५६ पुग्यो? 

कुल ६० जना परिक्षार्थी रहेका श्री मा.वि जुडिबेलाको यस पटकको वास्तविक विद्यार्थी उत्तिर्ण सङ्ख्या १६ जना भएको स्रोतले पुष्टि गरेको छ। ४४ जना अनुत्तीर्ण बिद्यार्थीहरुलाई अनुचित ढङ्गले उनिहरुको भविष्यलाई नै अन्धकारमा धकेल्दै जबर्जस्ती उत्तिर्ण किन गराइयो भन्ने कुरा अत्यन्तै शंकास्पद छ। 

यस सन्दर्भमा केहि अप्ठ्यारो परेमा आफु जोगिन बिद्यालयका प्रधानाध्यापकहरुलाई गैर कानुनी रुपमा कागज गराइ हस्ताक्षर गराइएको कुरा स्रोतले बताइरहँदा पाँच वटा बिषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरु उत्तिर्ण गराइनु भित्रको रहस्य आर्थिक चलखेल र राजनैतिक दबाब भन्दा बाहिर देखिदैन । 

कोहलपुर नगरपालिका र चन्द्रपुर नगरपालिकाको कक्षा ८ को नतिजा प्रकाशनमा भएको अनियमितता किन उस्तै र गैर कानुनी छ ? 

जसरी चन्द्रपुर नगरपालिका भित्र कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता भएको छ ठिक उस्तै प्रकृतिमा बाँके जिल्लाको कोहलपुर नगरपालिकाले अनुत्तीर्ण भएका विद्यार्थीहरुलाई उत्तिर्ण गराउँदा परेको उजुरीमा सिङ्गो शिक्षा समिति नै कारवाहीको भागेदार भएको थियो। 

नगर प्रमुखको रहस्यमय मौनता र ढाकछोप 

चन्द्रपुर नगरपालिका भित्रको शिक्षा क्षेत्रलाई नै ध्वस्त पार्ने गरि भएको एक पछि अर्को संगठित भ्रष्टाचारमा नगर प्रमुखको मौनता र ढाकछोप पनि अत्यन्तै शंकास्पद देखिन्छ। नगर प्रणाली भित्रका प्रमुख कर्मचारीहरुसँगको गहिरो साँठगाँठ भित्रको रहस्यमय साथ सहयोग किन र केका लागि भन्ने प्रश्न यसपटक स्पष्ट रुपमा खडा भएको छ। 

नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले नेतृत्व गरेको संगठित भ्रष्टाचारको मण्डलि भित्र कुन कुन शैक्षिक माफियाका अनुहारहरु लुकेर बसेको छ समयले बिस्तारै भण्डाफोर गर्ने कुरामा दुई मत नदेखिएतापनि हाललाई यस नगरवासीहरुको मौनता माथि नगर कर्मचारी र जनप्रतिनिधिहरुको चरम शोषण कति दिन टिक्ला?