पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी

२०८० भाद्र २४, आइतवार ११:२२ बजे

सर्लाही–सर्लाहीको मलंगवामा शनिबार साँझदेखि जारी कर्फ्यु हटाएर प्रशासनले तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार साँझदेखि बिहान ८ बजेसम्म लागु हुनेगरी कर्फ्यु जारी गरेको थियो ।
कर्फ्यु हटाइएपनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार मलंगवा नगरक्षेत्र, पूर्वमा भीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोलपम्मसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच भएको झडप शनिबार दिउँसो पनि दोहोरीएको थियो। सो दिन प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको थियो ।
विवाद समाधान गर्न सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्दा पनि आज बिहानैदेखि तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

निषेधित क्षेत्र तोकिएको स्थानमा भेला र सभा सम्मेलन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ ।