पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

कविता- दुश्मन (भिडियो सहित)

२०८१ जेष्ठ ५, शनिवार १०:५५ बजे

कविता 

दुश्मन 

   - मनु मञ्जिल 

मेरो एउटा दुश्मन छ

जो मलाई फोहोर जत्तिकै घृणा गर्छ

तर म उसलाई

फूल जत्तिकै मन पराउँछु ।

 

ऊ मेरो अनुहारमा

घाम नउदाउनू भन्छ

मेरो बगैँचामा वसन्त नआउनू भन्छ

मेरो घरको झ्यालढोकाबाट

हावा नपस्नू भन्छ

मेरो आँगनमा फूलले नमग्मगाउनू भन्छ ।

 

मेरा बालबचेराले

उसले सुन्ने गरी नकराउनू भन्छ

उसलाई दुख्ने गरी नरमाउनू भन्छ

ऊ आफ्नो घरको बार्दलीमा बस्छ

र परबाट बाटो हिँड्ने जो कोहीलाई

मनमनै मेरो घर नपस्नू भन्छ

कोसेली वा उपहार बोकेका

कोही नपसून् भन्छ

मन्दिरबाट आशीर्वाद लिएर फर्केका

बुढाबुढीलाई

मेरो घर अगाडिको

चौतारामा नबसून् भन्छ ।

उसलाई मेरो घरमाथि

चरा बसेको मन पर्दैन

जून मेरो छानामाथि बसेको

मेरो खेतबारीमा भाग्य लहलह झुलेको

आँपका रूखमा आशाका फूलहरु फुलेको

कुलाको पानी मेरो गैह्रीखेतमा डुलेको

उसलाई केही मन पर्दैन ।

यो बर्षात

किन मेरो घरको छानो भत्काउँदैन ?

पल्लो गाउँको खोलो

किन मेरो घरको बाटो आउँदैन ?

आगो किन यसरी

अँगेनामा चुपचाप छ ?

किन झिल्को जूनकीरी जस्तो

माथिमाथि उड्दैन ?

किन केही जलाउँदैन ?

 

ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ

मेरो घरमा आँधी आएर बसोस् भन्छ

राति चोर आएर भकारीमा घुसोस्,

मेरो ओठबाट मुस्कान उडेर

बालुवामा गई खसोस् भन्छ

तर म उसलाई

फूल जत्तिकै मन पराउँछु ।

 

यत्रो दुनियाँमा ऊ बाहेक अरू

मेरो साथी सगोत्री, आफ्नो अर्को

ठूलो सानो, परिचित अपरिचित

एउटै कतै कोही छैन

जसले आफ्नै रहर र सपना भुलेर

फूल, जून र चराहरू भुलेर

घर, धरती र आकाश भुलेर

मबारे यति बिघ्न सोचोस्

मलाई यति बिघ्न सम्झोस्

दुश्मन नहुनु भनेको त

आफूतिर हरदम फर्किरहने

जीवनको एउटा रमाइलो

पाटै नहुनु रहेछ

म उसलाई फूल जत्तिकै मन पराउँछु ।

भिडियो साभार : रमाइलो छ नेपाल युटुब च्यानल